दमक,२१ कार्तिक । झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित निशुल्क दन्त शिविरमा १५८ जना लाभाव्दित भएका छन् ।
बालसेवा विद्यालयको आयोजना तथा दमक थुलुङ डेन्टल केयर सेन्टरकोे प्राविधिक सहयोगमा भएको शिविरमा विद्यार्थीहरु, शिक्षक–शिक्षिका , कर्मचारी, अभिभावकहरु गरि १५८ जनाको दन्त परीक्षण गर्नुका साथैं दन्त सुरक्षा सम्बन्धी आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको विद्यालयका अध्यक्ष गोविन ल्वागुनले बताए ।
उनका अनुसार शिविरमा दन्त परीक्षण गराउने विद्यार्थीहरुका दाँत तथा मुखको स्याहारसुसारमा चेतनाको विकास गर्न सहयोगी दाताहरुबाट प्राप्त सौजन्य वापत कोलगेट र ब्रसहरु वितरण गरिएको छ ।
शिविरमा दन्त परीक्षण गराउने विद्यार्थीहरु मध्ये ४१ जनाको दाँत झिकिएको र सेवा पाउने करिव ६० प्रतिशत विद्यार्थी नानी–बाबूहरुको तत्कालै दन्त उपचार गरिनुपर्ने अवस्था देखिएको डेन्टलकी दन्त रोग विशेषज्ञ वरिष्ठ डाक्टर सोफिया थुलुङले जानकारी दिईन् । शिविरमा डेन्टलकी डा. थुलुङसहित डा.हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरेसहितको स्वास्थ्यकर्मीको टोली सहभागि थिईन् ।
सोहि अवसरमा विद्यालयमा सञ्चालित शिविरमा निशुल्क रुपमा प्राविधिक सहयोग पुरयाँउने थुलुङ डेन्टल केयर सेन्टरलाई विद्यालयको तर्फबाट कदरपत्र समेत प्रदान गरिएको प्रधानाध्यापक वेणु कार्कीले जानकारी दिए ।
दहगाउँमा पनि डा. थुलुङको सेवा
दक्षिणी इलामको माङसेबुङ गाउँपालिका -२ स्थित दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटनसहित वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दमकस्थित लाइफ लाईन अस्पतालको प्राविधिक सहयोगमा विहिबार सञ्चालित निःशुल्क दाँत तथा आँखा शिविर सम्पन्न भएको गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईले जनाए ।
उनका अनुसार शिविर लाइफ लाइन अस्पतालका दक्ष, अनुभवी र विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिकहरुको टोलीले दाँत तथा आँखाका रोगीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । दन्त शिविरमा अस्पतालकी दन्त सेवा विभागकी प्रमुख समेत रहेकी थुलुङ डेन्टलकी सञ्चालिका डाक्टर सोफिया थुलुङसहितको विशेषज्ञ र प्राविधिकहरुको टोलीले प्राविधिक सहयोग पुरयाँएका थिए ।