-तेजन खड्का
उर्लाबारी,५ कार्तिक । दसैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड उनीहरूको नृत्य हेर्न झुम्मिएको छ।
मोरङको उर्लाबारी–९ मा बुधबार आयोजित दसैं मेलामा देखिएको यो दृश्य सन्थाल समुदायको मौलिक दासाई नृत्यको हो। पुस्तौँदेखि दसैं तथा तिहारको अवसरमा प्रस्तुत हुँदै आएको दासाई नृत्य अहिले पनि सन्थाल समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ।
पूर्वी नेपालको मोरङ र झापामा बसोबास गर्ने सन्थाल समुदायले दसैंका बेला लाग्ने विभिन्न मेलामा दासाई नृत्य प्रस्तुत गर्ने गरेका छन्। परम्परागत बाजागाजाको तालमा समूह बनाएर प्रस्तुत गरिने यो नृत्य सन्थाल समुदायको इतिहास, आस्था र संस्कृतिसँग जोडिएको छ।
उर्लाबारीका स्थानीय फागुलाल हास्दाका अनुसार दसैं मेलामा सन्थाल नृत्य नहुँदा मेलाको रौनक नै अधुरो हुन्छ।
“दासाई नृत्य हाम्रो जातीय पहिचान हो। पुस्तौँदेखि हामीले यो नृत्यलाई निरन्तरता दिँदै आएका छौँ,” हास्दाले भने, “तर हाम्रो संस्कृति संरक्षणका लागि राज्य पक्षबाट अपेक्षित सहयोग हुन सकेको छैन। दासाई नृत्यमा लगाउने पोशाकमा समेत एकरूपता ल्याउन सकेका छैनौँ।”
उनका अनुसार सन्थाल समुदाय आर्थिक तथा सामाजिक रूपमा पछाडि परेको अवस्थामा रहेकाले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गर्नसमेत चुनौती थपिएको छ।
नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखीराम हस्दाका अनुसार दासाई नृत्य सन्थाल समुदायको प्राचीन सांस्कृतिक परम्परा हो।
“यो नृत्य हाम्रो पुर्खाको इतिहास र आस्थासँग जोडिएको छ,” हस्दाले भने, “भगवतीको विजयको सम्झनामा सन्थालहरूले नृत्य प्रस्तुत गर्ने परम्परा विकसित हुँदै आएको मानिन्छ। अहिलेको पुस्ताले पनि यसलाई निरन्तरता दिइरहेको छ।”
उनका अनुसार दासाई नृत्यमा सन्थाल समुदायको मौलिक भाषा, भेषभूषा, बाजागाजा र सांस्कृतिक भाव समेटिएको हुन्छ। तर संरक्षण र प्रवर्द्धनमा पर्याप्त ध्यान नदिँदा यस्तो मौलिक परम्परा क्रमशः संकटमा पर्दै गएको छ।
दासाई नृत्यमा पुरुषहरू परम्परागत भेषभूषामा सजिएर नाच्ने गर्छन् भने महिलाहरूले नृत्यमा उत्साह थप्ने गर्छन्। ढोलको ताल, लठ्ठी र अन्य परम्परागत सामग्रीको प्रयोगसँगै प्रस्तुत हुने नृत्यमा विभिन्न आकर्षक तथा रोमाञ्चक गतिविधिसमेत देखाइन्छ।
सन्थाल समुदायका एक ज्येष्ठ सदस्यका अनुसार नृत्यका क्रममा प्रस्तुत गरिने विभिन्न गतिविधि उनीहरूको परम्परा र धार्मिक आस्थासँग जोडिएका छन्।
“हामीमा कालीको शक्ति चढेको विश्वास गरिन्छ। त्यसैले नृत्यका क्रममा गरिने केही कठिन गतिविधिलाई पनि परम्पराकै रूपमा लिइन्छ,” उनले भने, “हाम्रा पुर्खाले गर्दै आएको यो परम्परा नयाँ पुस्ताले पनि सिक्नुपर्छ।”
मोरङको रंगेली, रामचोक, दोहमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, बिसनपुर, लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन र केरौनलगायतका क्षेत्रमा सन्थाल समुदायको बसोबास रहेको छ। झापाका विभिन्न क्षेत्रमा पनि सन्थाल समुदायको उल्लेख्य बसोबास छ।
तर पछिल्लो समय आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा पछाडि परेको समुदायको मौलिक भाषा, लिपि, धर्म तथा संस्कृतिसमेत संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगेको अगुवाहरू बताउँछन्।
उर्लाबारी–९ मा आयोजित कार्यक्रमका संयोजक सन्तोष तामाङ विक्रमले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
“हाम्रो समाजमा रहेका मौलिक कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक छ,” तामाङले भने, “सन्थाल समुदायको दासाई नृत्य केवल एउटा नृत्य होइन, हाम्रो क्षेत्रको सांस्कृतिक सम्पदा पनि हो। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।”
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी उर्लाबारी–९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले स्थानीय समुदायको कला, संस्कृति र परम्परा संरक्षणमा वडा तहबाट समेत सहयोग आवश्यक रहेको बताए।
त्यस्तै उर्लाबारी–८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले सन्थाल समुदायको मौलिक संस्कृति संरक्षणका लागि समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा राजेन्द्र मादेम्बा र सन्तोष तामाङले विशेष सहयोग गरेका थिए। कार्यक्रममा उर्लाबारी प्रहरीले शान्ति सुरक्षाको व्यवस्था मिलाएको थियो। प्रहरी निरीक्षक नवीन ओलीको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको थियो।
दसैंको अवसरमा आयोजित मेलामा प्रस्तुत दासाई नृत्य हेर्न स्थानीयको उल्लेख्य उपस्थिति थियो। परम्परागत पोशाकमा सजिएका सन्थाल कलाकारहरूको सामूहिक नृत्यले मेलामा छुट्टै रौनक थपेको थियो।