दमक,२१ भदौं । झापाको दमक- ६ स्थित फर्निचर लाईनमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफनो १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
पशुपति मन्दिरको सभाहलमा सभा गरि संस्थाले गतवर्षको विविध गतिबिधिहरुको समिक्षासँगै चालु आर्थिक बर्ष २०८३-०८४ का लागि महत्वपूर्ण योजना तथा कार्यक्रमहरु पारित गरेको छ । त्यस्तै, संस्थाले सञ्चालन गर्दै आएको विभिन्न बिधामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
कार्यक्रममा सहकारीले संस्थामा योगदान पुरयाँएवापत दमक -२ निवासी जेष्ठ शेयर सदस्य ८९ बर्षीय धनपति पोखरेल, संस्थाका संस्थापक तथा पूर्व ऋण समितिका संयोजक मेघराज तिम्सिना , संस्थाका दमक बजार प्रतिनिधि प्रदिप श्रेष्ठ र उदियमान पत्रकार गृष्मा सापकोटालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा सो सम्मान गरिएको हो ।
त्यसैगरी संस्थाले हरेक बर्षझैं यो बर्ष पनि उत्कृष्ट सेवा केन्द्र छनोट गरी गौरादह सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । संस्थाले चालू आर्थिक बर्ष २०८३-०८४ मा पनि शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यो बर्ष दुई जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने, भोटेकोशीका बाढी पीडितहरुका लागि संस्थाको तर्फबाट नगद १ लाख रुपैयाँ प्रदान गर्ने पनि अध्यक्ष न्यौपानेले जानकारी गराए ।
सभा समापनको प्रमुख अतिथी कोइराला, मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हेमचन्द्र खनालले लेखा समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव लिलानाथ खनालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।