गौरादह ,२० भदौं । झापाको गौरादहमा शुक्रवार शुरु भएको प्रथम गौरादह महिला फुटबल प्रतियोगिता -२०८३ उद्घाटन खेलमा रथखोला एफसी, पश्चिम बंगाल भारतले विजयी सुरुवात गरेको छ । गौरादह -१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रथखोला एफसीले फेयर एफसी धरानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १६औँ मिनेटमा फेयर एफसीकी खेलाडीबाट भएको आत्मघाती गोलसँगै रथखोलाले अग्रता लिएको थियो । त्यसपछि फेयर एफसीका लागि २६औँ मिनेटमा यमकुमारी विकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन् ।
तर दोस्रो हाफमा रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४७औँ र ६६औँ मिनेटमा दुई गोल थपिन् । उनको दुई गोलसँगै रथखोलाले ३–१ को जित सुनिश्चित ग¥यो ।
खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएकी रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्री प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत आज शनिबार धरान लेडिज फुटबल क्लब र राङ्चा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष उज्वल दाहालले बताए ।
उनका अनुसार गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ शुरु भएको सो प्रतियोगितामा भारतका २ गरी ८ वटा टोलीको सहभागिता रहको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लव घोषले उद्घाटन गरेको प्रतियोगितामा गौरादह , नगर प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी र नगर प्रवक्ता तथा गौरादह -१ का वडाअध्यक्ष नगेन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।