दमक,१८ भदौं । दमक–५ स्थित सर्वोदय इङलिस बोर्डिङ सेकेन्डरी स्कुलले मध्य भोटेकोशीमा आएको बाढीबाट विस्थापितहरुको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १लाख बढी रुपैया सहयोग उपलव्ध गराउने भएको छ ।
विद्यालयका प्रिन्सीपल नविन योगीका अनुसार विद्यालय परिवारको तर्फबाट रु. १ लाख १ हजार १ सय ४५ राहत रकम जम्मा गर्ने निर्णय गरिएको हो। उनले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।
विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उनले बताए । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ ।
स्मारिकाको कोषमा ४० हजार सहयोग
कमल -५ पाडाजुंगीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले आफ्नो सामाजिक तथा मानवीय दायित्वलाई आत्मसात गर्दै भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक भएको विद्यालयले जनाएको छ ।
मंगलमय माविबाट २३ हजार बढी सहयोग
कमल ५ कै मंगलमय माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितहरूका सहयोगका लागि रु. २३ हजार ८ सय ८० संकलन गरेका छन्।
आफ्नो सानो आवश्यकतालाई थाती राख्दै दैवी प्रकोपमा परेका आमा बूबा,दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन विद्यार्थीहरूले उक्त सहयोग जुटाएको हो ।