सवारी दुर्घटना परी झापामा दुईजनाको मृत्यु

झापा,२ भदौ । सवारी दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाको हल्दिवारी र कचनकवलमा भएका अलग अलग दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार गत साउन ९ गते हल्दिवारीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो । साउन ९ गते राति ८ः१५ बजे हल्दिबारी –२ सूर्य होली चोकमा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको मे. ३ प २८० नं को मोटरसाइकलले पैदलयात्री हल्दिबारी २ बस्ने वर्ष ५८ का कृष्णप्रसाद भट्टराईलाई ठक्कर दिएको थियो ।

घाइतेलाई ओम साई पाथीभरा अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा साउन ३० गते राति ८ः५० बजे अवस्था गम्भीर भएपछि घरमा ल्याई राखिएको थियो । साउन ३१ गते बिहान ८ः५० बजे आफ्नै घरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कचनकवल गाउँपालिका –१ चिया बगानमा जोत्दै गर्दा ट्रयाक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ । आइतवार प्र,१–०१–००१ त ८९९२ नं को ट्रयाक्टरले भद्रपुर बस्ने मोहन अग्रवालको खेत जोतिरहेको थियो ।

सो खेत भारत बिहार किशनगंज जिल्ला जोरबारी जियापोखेर–७ बस्ने बाबुलाल मर्डीले कमाउँदै आएका थिए । भारत बिहार किशनगंज जिल्ला गिलाबारी बस्ने ट्रयाक्टर चालक अजय भट्टियाले जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएको थियो ।

ट्रयाक्टरमा सवार भारत बिहार राज्य किशनगंज जिल्ला जोरबारी जियापोखेर- ७ बस्ने ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए । उनलाई आफन्तले उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.