कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा शुरु

दमक ,२६ साउन । जिल्लाको कमल गाउँपालिका २ क्याम्पामा रहेको कमल नगर अस्पतालमा सोमबारदेखि भिडियो एक्स–रे विस्तार गरिएको छ ।दुई वर्षअघि सञ्चालनमा ल्याईएको उक्त अस्पतालमा भिडिओ एक्सरे सेवा विस्तार गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताए । भिडियो एक्सरे सेवाको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले रिबन काटेर औपचारिक रुपमा शुभारम्भ गरे ।

भिडीयो एक्सरे सेवाको उद्घाटनका क्रममा अध्यक्ष राईले स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । सेवा सञ्चालनमा आएसँगै विशेषगरी गर्भवती महिला तथा भिडियो एक्स–रे आवश्यक पर्ने सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त हुने उनको भनाई थियो ।

सेवा शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, अस्पताल प्रमुख कुशल श्रेष्ठ, रेडियोलोजिस्ट डा. देव कृष्ण यादवलगायत पालिका, अस्पताल तथा स्वास्थ्य शाखाका कर्मचारीहरू, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरू , पत्रकार र विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

भिडियो एक्स–रे सेवा शुभारम्भ कार्यक्रमपछि अध्यक्ष राईले कमल नगर अस्पतालको समग्र सेवा प्रवाह तथा भौतिक संरचनाको निरीक्षण गर्नुका साथैं सेवाग्राहीहरूसँग सेवा गुणस्तरका विषयमा जानकारी लिएका थिए ।

आम्दा धुलावारी अस्पतालको सहकार्यमा साताको दुई दिन (सोमबार र विहिबार ) अस्पतालमा भिडिओ एक्सरे सेवा उपलव्ध हुने छन् । सेवा शुभारम्भको पहिलो दिन ४५ जना सेवाग्राहीले भिडियो एक्स रे सेवा लिएका स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।
दाहालका अनुसार यसअघि अस्पतालले घुम्ती सेवामार्फत सात वटै वडामा विपन्न गर्भवती महिलाहरुलाई लक्षित गरि ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन हुदै आएको थिया ।

Leave a Reply

Your email address will not be published.