झापा, १७ असार । फिफा- २०२६ को प्रि–क्वार्टरफाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा पाँच पटकको च्याम्पियन ब्राजिल र नर्वे भिड्ने पक्का भएको छ।
गएराति भएको खेलमा स्विडेनमाथि ३–० को फराकिलो जित दर्ता गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको हो। फ्रान्सले अब पाराग्वेसँग खेल्नेछ। फ्रान्सको जितका केलियन एमबाप्पेले २ गोल गरे। एक गोल ब्राडली बारकोलाको नाममा रह्यो।
२ गोलसँगै एमबाप्पेले ४ खेलमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अघि छन्। जारी विश्वकपमा एमबाप्पले र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले समान ६ गोल गरेका छन्। नकआउटकै अर्को खेलमा एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको छ।
आइभरी कोस्टलाई २–१ ले हराउँदै नर्वे अन्तिम १६ मा पुगेको हो। नर्वेले क्वार्टरफाइनल पुग्न ब्राजिलको सामना गर्नेछ।
पहिलो पटक विश्वकप खेलिरहेका हालान्डले ५ गोल गर्दै गोल्डेन बुटको दौडमा मेस्सी र एमबाप्पेलाई पछ्याइरहेका छन्। हालान्डपछि फ्रान्सका ओस्माने डेम्बेले र ब्राजिलका भिनिसियस जुनियर छन्। उनीहरु दुवैले समान ४ गोल गरेका छन्।
आज बिहान भएको खेलमा इक्वेडरलाई २–० ले हराउँदै विश्वकप आयोजक टोली मेक्सिको पनि अन्तिम १६ मा पुगेको छ। मेक्सिकोले अब इंग्ल्यान्ड र डीआर कंगोबीचको खेलको विजेतासँग खेल्नेछ।
विश्वकपमा आज राति र भोलि बिहान गरी ३ खेल हुनेछन्। राति पौने १० बजे हुने खेलमा इंग्ल्यान्ड र डीआर कंगो भिड्नेछन्। यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्।
डीआर कंगो पहिलो पटक नकआउट पुगेको टोली हो। सन् २०२२ को विश्वकपमा फ्रान्ससँग २–१ ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्ड यो पटक उच्च प्रदर्शन गर्ने लक्ष्यमा छ। सन् १९६६ मा पहिलो पटक विश्वकप उचालेको इंग्ल्यान्डले त्यसपछि उपाधि नजिक पुग्नसकेको छैन।
राति पौने २ बजे बेल्जियम र सेनेगल खेल्नेछन्। बेल्जियम समूह ‘जी’को विजेता र सेनेगल समूह ‘आई’को तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। यी दुई टोली पनि पहिलो पटक भेट हुनलागेका हुन्।
बिहान पौने ६ बजे विश्वकप आयोजक अमेरिका र बोस्निया एन्ड हर्जगोभिना भिड्नेछन्। बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’को तेस्रो भएर नकआउट पुगेको टोली हो। अमेरिका भने समूह ‘डी’को विजेताको रुपमा नकआउट खेल्न लागेको हो।
यी दुई टोली चौथो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१३, २०१८ र २०२१ मा गरी भएका तीनै भेट मैत्रीपूर्ण खेलमा भएको हो। यो भेटमा २ खेल अमेरिकाले जितेको छ भने एक खेल गोलरहित बराबरीमा टुंगिएको थियो। ( नेपाल खबरबाट )