रुपेश र कृतिसरालाई राष्ट्रिय बुद्धिचालको उपाधि

दमक,५ असार । रौतहटका एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन्। यो पुरुषतर्फ २६ औं खुल्ला र महिलातर्फ ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा द्धय खेलाडी च्याम्पियन बन्न सफल भएका हुन् । प्रतियोगिताबाट छनौट भएका १० जना खेलाडीले आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि सहभागिता जनाउने छन् ।
प्रतिस्पर्धाको खुलातर्फ रौतहटका एफएम रुपेशले ११ खेलबाट ९.५ अंक जोडेर उपाधि रक्षा गरेका छन्। तेस्रो पटक नेपाल विजेता बनेका रुपेशले अन्तिम खेल सुश्रुत दहालसँग बराबरी खेलेका थिए ।

यस्तै दोलखाका युवा आशिष फुयाल ७.५ अंकसहित दोस्रो तथा पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंकसहित तेस्रो स्थानमा रहे। समान ७ अंक बनाएर टाइब्रेकका आधारमा झापाका सिएम सुश्रुत दाहाल चौथो, काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल पाँचौँ तथा पाँचथरका रिशोन थापा छैटौँ स्थानमा रहे।
झापाका ज्वाला इम्बुङ ६ अंक, सुनसरीका मुहान नरसिंह श्रेष्ठ ४.५ अंक, समान ३ अंक जोडेका खोटाङका धिरेन राई, काठमाडौंका पुरुषोत्तम चौलागाईं, बाँकेका अभिक शाह र १.५ अंकमा ललितपुरका कमल श्रेष्ठले बाह्रौं स्थानमा रहे।
यसैगरी महिलातर्फ झापाका कृतिसरा अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ८.५ अंकसहित राष्ट्रिय महिला च्याम्पियनको उपाधि जितिन्।
झापाकै पूजा भण्डारी ७.५ अंकसहित दोस्रो तथा दोलखाका निहाना श्रेष्ठ ७ अंकसहित तेस्रो स्थानमा रहिन्। समान ७ अंक प्राप्त गरेकी एन्जल महर्जन टाइब्रेकका आधारमा चौथो स्थानमा सीमित भइन्।
डाइरेक्ट इन्काउण्टर, सोन्नेवर्ग बर्जर टाइब्रेकका आधारमा समान ६.५ अंक जोडेर काठमाडौंका बिनिता कपाली, निवर्तमान ओमन नेपाल च्याम्पियन सिन्दिरा जोशी र झापाका प्रिया क्षेत्री क्रमशः छैटौं स्थानमा रहे।
यस्तै ताप्लेजुङका सुशिला गुरुङ ५.५ अंक, बाँकेका इशा गिरी ४.५ अंक, झापाका पुनम प्रसाईं ३ अंक, प्रविशा दवाडी २ अंक र नुमा सुब्बा १.५ अंक जोडेर स्पर्धा अन्त्य गरेका छन्।
नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुष तर्फ एफएम रुपेश जैसवाल, आशिष् फुयाल, राजन सुवेदी, सिएम सुश्रुत दहाल र सिएम पुरुषोत्तम सिलवाल छनोट भएको जानकारी गराएका छन् ।
यस्तै महिला तर्फ पूर्व विजेता सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ एञ्जल महर्जन छनोट भएका छन्।
नेपाल बुद्धिचाल महासंघको तत्ववधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी र जिल्ला बुद्धिचाल संघ झापाको आयोजनामा गत जेठ ३१ देखि असार ५ गतेसम्म दमकमा राष्ट्रिय प्रतियोगिता भएको थियो।

Leave a Reply

Your email address will not be published.