धनकुटा,२ असार । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा धनकुटामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । यसरी ज्यान गुमाउनेमा सुनसरीको रामधुनी नगरपालिका–९ झुम्का घर भई हाल धनकुटा नगरपालिका–७ सब्जीलाइन बस्दै आएका ५५ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः३० बजे धनकुटा नगरपालिका–४ स्कुलडाँडा स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक चौधरी र को २५ प १७७ नम्बरको मोटरसाइकल चालक धनकुटा नगरपालिका–१ हिलेका करिब ३२ वर्षीय श्याम तामाङ घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा चौधरीको भने बिहान ९ बजे उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइते तामाङलाई थप उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।