पथरी शनिश्चरे ,२५ जेठ । मोरङको पथरी शनिश्चरे क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्धको निगरानी र कारबाहीलाई थप कडा बनाउँदै लगेको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले मापासे लगायतको सवारी दुर्घटना न्यूनीकरण गर्न नियमित चेकजाँचलाई तीव्रता दिएको हो।
रातको समयमा मदिरा सेवन गरी सवारी साधन चलाउने र दिनको समयमा तीव्र गतिमा सवारी साधन गुडाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउँदै गएको निष्कर्षसहित ट्राफिक प्रहरीले नियमित दैनिक रूपमा विशेष निगरानी तथा चेकजाँच सञ्चालन भइरहेको पथरी ट्राफिक प्रहरी कार्यालयका प्रमुख बाबुराम न्यौपानेले जानकारी दिए ।
ट्राफिक नियमको उल्लङ्घन गर्दै मादक पदार्थ सेवनपछि सवारी हाँक्ने चालकहरूलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिँदै आएको उनले बताएका छन्।
आर्थिक वर्ष २०८२ -८३ को गत साउन महिनादेखि वैशाख मसान्तसम्ममा ट्राफिक प्रहरी कार्यालय पथरीले जम्मा १०२१ वटा विभिन्न सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनहरु कारबाहीमा परेका छन्। ती सवारीहरूबाट कुल ८ लाख ९९हजार बराबरको राजस्व संकलन भएको छ ।
जस अनुसार सवारी चेकजाँचका क्रममा सबैभन्दा बढी ३ सय८३ मोटरसाइकल कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट ३ लाख ४१हजार १०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यसैगरी, ट्राफिक नियम तथा सवारी ऐन विपरीत सञ्चालन भएका कुल २ सय५७ ट्रक र ट्रिपरहरू कारबाहीमा पर्दा यो१० महिनाको अवधिमा २ लाख ५० हजार ५सय रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, कुल १ सय ८३ वटा कार जिपलाई कारबाही हुदाँ कुल १ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले विशेषगरी साँझ र रातिको समयमा चेकिङ अभियानलाई केन्द्रित गरेको जनाएको छ ।
सो अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी देखिने भएकाले विभिन्न स्थानमा नियमित रूपमा चेकजाँच सञ्चालन भइरहेको छ। प्रहरीका अनुसार
हालसम्म कारबाहीमा पर्नेहरूमा अधिकांश मोटरसाइकल चालक रहेका छन्।दुईपाङ्ग्रे सवारी साधनमा हुने दुर्घटनाको जोखिम तुलनात्मक रूपमा बढी हुने तथा मदिरा सेवनपछि मोटरसाइकल चलाउँदा दुर्घटनाको सम्भावना झन् बढ्ने भएकाले मोटरसाइकल चालकहरूलाई विशेष निगरानीमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सबै सवारी चालकलाई मादक पदार्थ सेवनपछि सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।
केही दिन यता ट्राफिक प्रहरी तथा इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले कानेपोखरी र पथरी शनिश्चरे क्षेत्रका विभिन्न चोक बजारहरूमा बाइकको साइरेन्जर ’मोडिफाई’ गर्ने, ठूलो आवाजमा हन बजाउने, तीव्र गतिमा सवारी गुडाउने , हेल्मेट नलाई सडकमा सवारी चलाउने लगायतका विभिन्न सडक सुरक्षामा बाधा पु¥याउनेहरू माथि संयुक्त रूपमा चेकजाँच सहितका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।