बिर्तामोड ,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। बिर्तामोडमा शनिवार सम्पन्न पहिलो जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा मेचीनगर निवासी भण्डारीले ३४१ मत प्राप्त गरि पार्टीको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत प्राप्त गरे भने अर्का उम्मेदवार अर्जुनकुमार मैनाली २५ मतमा सीमित भए। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो।
यसैगरि, उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन्। उनले २१० मत प्राप्त गर्दै विजय हासिल गर्दा शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरेका थिए । उपसभापति पदमा कडा प्रतिस्पर्धा भए पनि ढकाल झिनो मतान्तरले विजयी बने।
सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत प्राप्त गरे। सहसचिवमा भिमबहादुर कुँवर ३५२ मतसहित विजयी हुँदा राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरेका थिए।
जातीय समावेशी सदस्यतर्फ राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भएका छन्। उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरेका थिए।
खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९, शान्तिमाया न्यौपाने २१४ र मुना सापकोटा ११९ मतसहित निर्वाचित भएका छन्। यी पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो।
अन्य उम्मेदवारमध्ये पवन गिरीले २१५, दिवाकर मैनालीले १८०, नन्दकुमार चुडालले १२८, नरेन्द्र राईले ११६, नरेन्द्र शिवाकोटीले ९३, भेषराज ओलीले ८६, चेतकुमार खनालले ८०, बालकृष्ण खतिवडाले ५७ तथा प्रेमप्रसाद खरेलले २६ मत प्राप्त गरेका थिए।
अधिवेशनले क्षेत्रीय नेतृत्वसमेत चयन गरेको छ। क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लिलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुणामणि पाठक निर्वाचित भएका छन्।
रास्वपा मोरङको सभापतिमा कँडेल
रास्वपा मोरङको जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न अधिवेशनको निर्वाचन प्रक्रियामा कँडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।
कुल ४८६ मत खसेको निर्वाचनमा सभापति पदका विजयी उम्मेदवार कँडेलले २८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले १३४ मत र अर्का उम्मेदवार सागर फुयाँलले ५६ मत प्राप्त गरे । विजयी कँडेल रास्वपा मोरङका संस्थापक सभापति हुन् भने उनी शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् । सभापतिका अन्य उम्मेदवारमध्ये फुयाँल शैक्षिक व्यवसायी हुन् भने खनाल वैदेशिक रोजगारीबाट फर्केर पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका थिए ।
त्यसैगरी, सचिव पदमा दिवस नेपाल निर्वाचित भएका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक मत परिणामका बीच नेपाल १३० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ई. सुरेश श्रेष्ठले १२४ मत प्राप्त गरे । सचिव पदका अन्य उम्मेदवारहरू बुद्धिनाथ अधिकारीले ११९ र कुमार खुलालले १०३ मत ल्याएका थिए ।
सचिवमा निर्वाचित नेपाल यसअघि नेपाली कांग्रेस विराटनगर महानगरको उपसचिव रहेका थिए र ‘जेनजी आन्दोलन’ पछि रास्वपामा आबद्ध भएका थिए ।
यस्तै, ३२३ मतका साथ सह–सचिव पदमा सिर्जना गिरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सन्तोष सिंहले १४६ मत प्राप्त गरे । उपाध्यक्ष पदमा भने बिमला बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।
जिल्ला कार्यसमितिको ४ सदस्य पदका लागि भएको निर्वाचनमा ६ जना बीच प्रतिस्पर्धा भएको थियो । जसमा भावना बस्नेत श्रेष्ठ (२९४ मत), युवराज ओझा (२५८ मत), ओम प्रकाश श्रेष्ठ (२५७ मत) र लक्ष्मी श्रेष्ठ (१९६ मत) प्राप्त गरी विजयी भए । सदस्यका अन्य प्रत्यासीहरू मध्ये परमेश्वर साहले १८१ र महेश कुमार खनाल तथा युवराज कार्कीले समान १५७ मत प्राप्त गरेका थिए ।
रास्वपाको विधानअनुसार ९ सदस्यीय जिल्ला कार्यसमितिमा पदाधिकारीसहित निर्वाचित सदस्यहरू रहनेछन् भने कोषाध्यक्षको चयन निर्वाचित समितिले पछि गर्ने व्यवस्था छ । समितिमा २ जना सदस्य मनोनीत गरिने र पालिका सभापतिहरू स्वतः पदेन सदस्य रहने प्रावधान छ । अधिवेशनले जिल्ला नेतृत्वसँगै क्षेत्रीय सभापतिहरूको समेत चयनको प्रक्रिया अघि बढाएको छ । नव निर्वाचित नेतृत्वले मोरङमा रास्वपाको संगठनलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
रास्वपा सुनसरीको सभापतिमा दाहाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनका क्रममा मतदान अधिकारलाई लिएर विवाद उत्पन्न हुँदा केही समय तनावसमेत सिर्जना भएको थियो।
निर्वाचन समितिका अनुसार दाहालले १४२ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए।
यस्तै, उपसभापतिमा राजेशमान श्रेष्ठ, सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी निर्वाचित भएका छन्। सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धर्मवीरकुमार आर्य, रेणुका हरिजन तथा गोकुल थापा निर्वाचित भएका छन्।
यसअघि कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी अधिवेशनका क्रममा मतदान गर्ने अधिकारबाट केही कार्यकर्ताको नाम हटाइएको भन्दै विवाद भएको थियो।