बुवाको हत्या आरोपमा छोरा पक्राउ

उर्लावारी ,६ चैत। मोरङको रतुवामाईमा बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

आफ्नै बाबुमाथि आक्रमण गरेर फरार रहेका उनी डेढ महिनापछि पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिजुवाका असई रमेश नेपाल नेतृत्वको टोलीले सहनीलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय सत्रुधन सहनीलाई लछारपछार र कुटपिट गरेका थिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएका सत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीका अनुसार उपचार सम्भव नहुने भनेर अस्पतालले बिदा दिएपछि उनलाई घर लगेर राखिएको थियो। सत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए। उनका अनुसार सामान्य घरायसी विवादमा बुवालाई आक्रमण गरेर श्रवणकुमार फरार भएका थिए।

आक्रमण गरेर भागेका उनी बाबुको मृत्यु हुँदासम्म पनि फेला परेका थिएनन्। उनलाई झापामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेर पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेका श्रवणकुमारविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने छ ।

Leave a Reply

Your email address will not be published.