झापा, २७ माघ । झापाको बिर्तामोड -२ चारपाने लालमाटीमा रहेको ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी -४बस्ने बर्ष २८का राजिव राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति ११ वजेतिर मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टि हान्दा करेन्ट सर्ट भई राजवंशीलाई करेन्ट लागेको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।