दमक,१५ माघ । दमक -५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विहिबार उर्लावारीमा निशुल्क आखाँ शिविर आयोजना गरेको छ ।
उर्लाबारी सेवा केन्द्रको पाँचौ स्थापना दिवसका अवसर पारेर आयोजित निशुल्क आँखा शिविरमा संस्थाका १५१ जना शेयर सदस्यहरुले सेवा लिएका सह–व्यवस्थापक धर्मानन्द भट्टराईले बताए । उनका अनुसार शिविरमा सेवा लिएका मध्ये १७ जनामा मोतियाविन्दु देखिएका र संस्थाको सिफारिसमा सहुलियतका साथ शल्यक्रिया गरिने छ ।त्यस्तै, आखाँ जाँचमा आवश्यक परेकाहरुलाई चश्मा समेत विशेष छुटका साथ वितरण गरिएको थियो ।
दमकस्थित बिर्ताज्योति आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा नेत्र स्वास्थ्यकर्मी लिलानाथ फुयाल र सलोनी सिंह राजवंशी लगायतका स्वास्थ्यकर्मीहरुले आँखा जाँच गर्नुका साथै उपचार सम्बन्धी परामर्श प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको शिविर उद्घाटनमा उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाअध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
उर्लाबारी–७ पशुपतिमार्ग दुर्गामन्दिरको हलमा आयोजित शिविरमा लायन्स क्लव अफ- ३२५ सीका जोन चियर पर्सन पवन अग्रवाल, दुर्गा मन्दिरका अध्यक्ष राजन रायमाझी , संस्थाका उर्लावारी सेवाकेन्द्रका संयोजक नेत्र खनाल, सहकारीका सञ्चालकहरु, शेयर सदस्य, कर्मचारीहरु लगायतको उपस्थिति रहेको संस्थाका व्यवस्थापक युवराज सिग्देलले बताए ।
