दमक,५ पुस । दमक नगर इसाई समाजले दमक–५ स्थित नारायण गोपाल टोलमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । ख्रीष्टमसको अवसर पारेर समाजले स्थानीय कर्नर स्टोन चर्चमा शुक्रबार आयोजना गरेको दन्त शिविरमा दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो । कर्नर स्टोन चर्चको व्यवस्थापनमा भएको सो शिविरमा बालबालिकाहरुसहित ६५ जनाले सेवा लिएका थिए ।
दमक थुलुङ डेन्टलकी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङसहित डा. हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीको टोलीले सेवाग्राहीहरुलाई मुख तथा दाँतको हेरचाह र यसको महत्वका बारेमा परामर्श समेत प्रदान गरेका थिए ।
दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षतामा भएको शिविरको शुभारम्भ कार्यक्रममा ख्रीष्टमसको खुशीयालीमा गीतमार्फत सहभागिहरुलाई मनोरञ्जन गराइएको थियो ।
समाजका सचिव पाष्टर अजय पाठकले सञ्चालन गरेको कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार आकाश थुलुङ राई, पूर्वअध्यक्ष तथा कर्नर स्टोनका दावा शेर्पा, समाजका उपाध्यक्ष राम राई, सहसचिव दीपक कार्की, युवा संगतीका अध्यक्ष एल्डर सुरज लिम्बू लगायत अगुवाहरुको उपस्थिति थियो ।