इप्रका दमकमा आक्रमण गर्ने १३ जना जेल चलान

दमक,१७ मंसीर । जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्ने १३ जना जेल चलान भएका छन् । विभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ -५ बस्ने २१ वर्षीय साजन लुहागुन , इलाम चुलाचुली -३ बस्ने २२ वर्षीय नकुल अधिकारी , दमक- ७ बस्ने २४ वर्षीय लोमस कटुवाल , दमक -७ बस्ने २० वर्षीय गौरव भुजेल , पाँचथर मिक्लाजुङ -३ बस्ने सुशिल फियाक , दमक -७ बस्ने १९ वर्षीय शिव मल्लिक , इलाम चुलाचुली -२ बस्ने २२ वर्षीय दर्शन लिम्बू , गौरादह -३ घर भई हाल दमक -९ बस्ने १९ वर्षीय सुन्दर गिरी , गौरीगञ्ज वडा नं ३ बस्ने ४६ वर्षीय रमेश पासवान र सोही ठाउँका १९ वर्षीय सोनु पासवान रहेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतले मंगलवार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली -३ बस्ने १९ वर्षीय सुजल राई , दमक -९ बस्ने २६ वर्षीय अरुण रोक्का र दमक -९ बस्ने १९ वर्षीय गणेश शर्मा पुर्पक्षका लागि जेल चलान भएका थिए । त्यस्तै दमक -३ बस्ने १६ वर्षीय रियाज सिलवाल ,दमक -५ बस्ने १६ वर्षीय सायल राई , दमक- ७ बस्ने १७ वर्षीय शाखिब शेख र दमक- ३ बस्ने १७ वर्षीय आदित्य लिम्बू गरी चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ । त्यस्तै दमक -९ बस्ने ३४ वर्षीय सन्तबहादुर मोते र दमक –८ बस्ने ३६ वर्षीय उमेश थापा जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । त्यस्तै दमक ३ बस्ने २१ वर्षीय केदार बस्नेत ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
झापामा ४६ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये १३ जना पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको , तीनजना धरौटीमा रिहा भएको , ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा संलग्नमध्ये झापा, मोरङ र सुनसरीका ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाबाट ४६, मोरङबाट ३९ र सुनसरीबाट ४ जना रहेका छन्।
मोरङमा जेनजी आन्दोलनका नाममा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई दुई चरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।
त्यसैगरी सुनसरीमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिए ।उनीहरूलाई इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.