बेवारिसे अवस्थामा दमकमा ११ राउण्ड गोली फेला

दमक, ६ मंसीर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक नगरपालिका वडा नं. ७ स्थित मानव सेवा आश्रम नजिकै भित्री सडकमा शुक्रबार बेलुका बेवारिसे अवस्थामा चार हजार राउण्ड गोली भेटिएको हो ।
एसएलआरका ५ राउण्ड, इन्सासका तीन राउण्ड र ३०३ राइफलका तीन राउण्ड गोली फेला परेको खड्काले जानकारी दिए ।आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटिएकोमा अहिलेसम्म तीन थानमात्र फेला परेको छ ।
बाँकी १७ थान हतियार खोजी कार्य तीव्र बनाइएको खड्काले जनाए । घटनामा संलग्नहरूको पहिचान र खोजी कार्य तीव्र बनाएपछि हतियार र गोली भेटिन थालेको प्रहरीको भनाइ छ ।
यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवालाई प्रहरीले उनीहरूको घरबाट नै पक्राउ गरेको छ ।यसैवीच, जेनजी आन्दोलनका समयमा झापाका विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गर्ने ३० जनालाई पक्राउ गरिएको छ । हालसम्म दमकबाट १४ र बिर्तामोडबाट १६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले बताए ।

Leave a Reply

Your email address will not be published.