दमकमा लुटिएका हतियार पाँचथरमा फेला, एक जना पक्राउ

दमक ,३ मंसीर । दमकस्थित इलाका प्रहरी कार्यालयमा गत भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका दुई थान हतियार र गोलीगठ्ठा पाँचथरमा फेला परेका छन् ।
प्रहरीले उक्त घटनामा संलग्न एक जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले विशेष सूचनाका आधारमा मंसिर २ गते दिउँसो करिब १ः३० बजे प्रारम्भिक सोधपुछका क्रममा फियाकले हतियारहरू पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–०३ आरुबोटे लामागाउँस्थित एउटा ओडारमा लुकाई छिपाई राखेको बताएका थिए । त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त ओडारबाट हातहतियार तथा गोलीगठ्ठाहरू बरामद गरेको हो ।

प्रहरीले म्याग्जिनसहित थ्री नट थ्री राइफल १ थान र म्याग्जिन नभएको, बट र ह्यान्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान नियन्त्रणमा लिएको छ । यस्तै, इन्सासको जंगी राउण्ड १ थान र एसएलआरको जंगी राउण्ड १ थान पनि बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.