दमक ३० कार्तिक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले यस क्षेत्रका शान्तिसुरक्षा ,अमनचयन कायम गर्न प्रहरी संगठन सधै क्रियाशील रहने बताएका छन् ।
दमक प्रहरीको जिम्मेवारी सम्हालेका डिएसपी लम्सालले आइतवार सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी मात्रको एक्लो प्रयासले शान्तिसुरक्षा सुढृण बन्न नसक्ने भएकाले जनस्तरबाट सहयोग हुनुपर्ने औल्याए ।
पछिल्लो जेएनजी आन्दोलनका कारण समाजमा अपराधिक कृयाकलापहरु बढ्दै गएको भन्दैं उनले भने, –‘ त्यस्ता अवान्छित गतिविधिहरुलाई नियन्त्रण गर्न सिंगो प्रहरी संगठन प्रतिवद्ध छ ’
भयरहित,सुरक्षित समाज निर्माण गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ कलम चलाउन पनि उनले आग्रह गरे । डिएसपी लम्सालले युवा वर्गमा लागूऔषध लत बढ्दै गएकोमा त्यस्ता कार्य निरुत्साहित गर्न घरपरिवारबाट कदम चाल्नु पर्ने औल्याए । आफना छोराछोरीहरु कुलतमा फसेको भए निर्धक्क फसेको छ भनेर भन्न सकेमात्र त्यो समस्या विस्तारै नियन्त्रणमा आउने उनले भनाई राखे ।
लागूऔषध विरुद्ध सिंगो समाजको सकरात्मक भूमिका हुनु सके यो समस्या विस्तारै नियन्त्रणमा आउने उनको भनाई थियो । उनले भने , –‘कुलतमा फसेका युवा वर्गलाई बेलैमा आवश्यक उपचार,परामर्श गरेर यही समाजमा पुर्नास्थापित गराउन हाम्रो समाजको ध्यान जान सकिएमात्र यो समस्या नियन्त्रणमा आउने छ । ’
इप्रका दमकको बैठककक्षमा आयोजित परिचयात्मक कार्यक्रममा पत्रकारहरु विष्णु सुब्बा,गिरीराज भटटराई, मनकुमार गदाल लगायतले दमकमा लागूऔषध,वेश्याबृति जस्ता अवान्छित कार्य निरुत्साहित गर्न सुझाव दिएका थिए । उनीहरुले प्रहरीबाट उपलव्ध हुने सूचना सहज ढंगले प्रवाह गर्ने वातावरण निर्माण गरिदिन आग्रह समेत गरेका थिए ।
साता दिन अघि मात्र डिएसपी लम्सालले दमकको प्रहरी कमाण्ड सम्हालेका हुन् ।
कार्यक्रममा इप्रका दमकका प्रहरी निरीक्षक नविन राई, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, बिमल लामिछाने, चिरञ्जिवि घिमिरे लगायतका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।