लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

झापा, १८ असोज । लामो दुरीका र काठमाडौं उपत्यका भित्रने÷बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । सरकारले असोज १८, १९ र २० गते सवारी सञ्चालनमा रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने÷बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

आन्तरिक हवाई उडान प्रभावित

मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ ।उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् ।
कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.