झापा ,२३ भदौं । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्ध काठमाडौंमा उत्रिएका जेन जीले निकालेको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर १७ जनाले ज्यान गुमाएका छन् ।
सोमबार जेन जी समूहले काठमाडौसहित देशैभरि एकैसाथ निकालेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेसंगै घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या १७ पुगेको हो ।
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते मध्ये ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यता एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । यो सहित उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा र टिचिङ अस्पतालमा १ ,१ जनाको मृत्यु भएको ती अस्पताल प्रशासनले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् । प्रर्दशनका क्रममा झडप हुदाँ प्रहरीसहित प्रर्दशनकारीहरु समेत ठुलो संख्यामा घाईते भएका छन् । प्रर्दशन काठमाडौंसहित देशैभरिका मुख्य शहरवजारमा भएको थियो ।
२१६ बढी प्रर्दशनकारी घाईते
काठमाडौँमा भएको जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ ।ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।
एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
घाइतेको उपचार निःशुल्क गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।
साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।