झापा,२५ असार । वर्षासंगै परेको चट्याङ लागेर घाइते भएका ताप्लेजुङ सदिङ्वा – ३ थुङरुङ्वा बस्ने ३५ वर्षीय राजकुमार लिम्बू (देवान) को मृत्यु भएको छ ।मंगलवार साँझ ५;३० बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागेर उनी घाइते भएका थिए ।
घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा साब्लाखु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।
त्यस्तै सोही पालिकाको वडा नं ५ लिम्बुदिन बस्ने १७ वर्षिय मिसन लिम्बू पनि चट्याङले लागेर घाइते भएका छन् । मेघगर्जन सुरु भएसंगै घरमा बिजुली लाइनको एमसीपी झार्ने क्रममा लिम्बूलाई चट्याङ लागेको प्रहरीको भनाई छ । लिम्बूको अनुहार र जिउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको परिवारले जनाएको छ ।