दमक,२४ असार । रोटरी क्लब अफ दमकको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । रोटरी वर्ष २०२५–२०२६ का लागि क्लवका अध्यक्ष केशव अग्रवालको टिमले सोमबारबाट जिम्मेवारी सम्हालेको हो ।
रोटरीले सोमबार साँझ आफनो १४ औं पदस्थापन कार्यक्रमका बीच सन् २०२४–०२५ कार्यकालका अध्यक्ष विक्रमकुमार साहले सन २०२५–०२६ कार्यकालका अध्यक्ष केशव अग्रवाललाई संस्थाको माइन्यूटसहित पद तथा जिम्मेवारीहरू हस्तान्तरण गरेका थिए । उनीहरुलाई रोटरी क्लबका डिजी ( डिस्ट्रीक गभर्नर) विनोद कोइरालाले पद तथा गोपनियताको सपथ गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष अग्रवालले सामाजिक तथा मानवीय सेवामा क्रियाशील रोटरी क्लब अफ दमकको नेतृत्व सम्हाल्दै संस्थालाई गतिशील र सेवा कार्यलाई प्रभावकारी बनाउँदै क्लवको गरिमालाई उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । आफनो कार्यकालदेखिनै बर्षेनी रोटरी क्लब मार्फत आफ्ना हजुरबुबाको स्मृतिमा सामाजिक कामका लागि २५ हजार रुपैयाँका दरले योगदान दिदै आएको उल्लेख गरे ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईसहित विभिन्न वडाका वडाध्यक्षहरु, रोटरी क्लबका डिस्ट्रिक गभर्नर विनोद कोइरालासहित विभिन्न रोटरी क्लबका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष विक्रमकुमार साहले आफ्नो कार्यकालमा रोटरी क्लब मार्फत समाजमा गरिएका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई सहयोग पुरयाउने व्यक्तित्वहरुलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए । क्लबका नोमिनेट प्रेसिडेन्ट सागर श्रेष्ठले सहभागीहरुलाई स्वागत मन्तव्य राखेका थिए भने क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, भरत चम्लागाइँ, गंगाप्रसाद काफ्ले, पदमराज बराल लगायत तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रोटरी पत्रकारिता पुरस्कार राइलाई
सो अवसरमा रोटरी क्लब अफ दमकले बर्षेनी प्रदान गर्दै आएको रोटरी वर्ष उत्कृष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार अनिलदेव राईलाई प्रदान गरिएको थियो । पत्रकार राई दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील छन् । उनी हाम्रो सरोकार अनलाइन न्यूज पोर्टलका सम्पादक हुन् ।
पत्रकारिता मार्फत रोटरी क्लब र सिंगो समाजलाई दिएको योगदानको मूल्याङकन गर्दै पत्रकार राईलाई नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरिएको थियो ।