दमक ,१४ असार । लिम्बू भाषा अध्यापन गराउने शिक्षकहरुका लागि दमकमा शुक्रवारदेखि तीनदिने शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको छ । बिद्यालय शिक्षामा आदिवासी याक्थुङ भाषा पठनपाठनलाई थप प्रभावकारी बनाउन कार्यशाला शुरु गरिएको हो ।
कार्यशालामा झापा र मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको छ । दमकको थ्रीइन होटलमा सञ्चालित कार्यशालामा प्राज्ञ,भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा.प्रेम फियाक र बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्णकुमारी लिङदेनले सहजीकरण गरिरहेका छन् ।
किरात याक्थुङ चुम्लुङ संघीय समिति र टिचर्स कलेज कोलम्बिया यूएसएको तथा चुम्लुङ झापा र मोरङको संयोजनमा भएको कार्यशालाको उद्घाटन समारोहमा चुम्लुङ झापाका उपाध्यक्ष हस्तबहादुर आङदेम्बे, मुन्धुम तथा लिपी सम्बन्धी अध्येता इन्द्र आङदेम्बे, चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ, मोरङ जिल्ला अध्त्तयक्ष डिवी कुरुम्बाङ, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका अध्यक्ष सेसेमी से–नाल्वो,सहजकर्ता डा. प्रेम फियाक लगायतले लिम्बू भाषा अध्यापन गराउने शिक्षकहरुका लागि यस किसिमको तालीमले पेशागत क्षमता अभिबृद्धिका लागि सघाँउ पुग्ने जोड दिएका थिए ।