कमलको सामुदायिक शिक्षामा सकरात्मक परिवर्तन आउँदै

दमक,१४ जेठ । झापाको कमल गाउँपालिकामा सामुदायिक बिद्यालयको शिक्षामा सुधारका लागि उदाहरणीय प्रयासहरुलाई अघि बढाइएको छ ।गाउँपालिकाको शिक्षा समिति संयोजकको समेत भूमिकामा रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा पालिका भित्रका सामुदायिक बिद्यालयहरुको भौतिक तथा शैक्षिक क्रियाकलापहरुमा सकारात्मक परिवर्तन देखिदै आएको हो ।

यो पालिका भित्रका सामुदायिक बिद्यालयको शैक्षिक तथा प्रशासनिक क्रियाकलापको गाउँपालिका कार्यालयबाटै निगरानी गर्ने चालू शैक्षिक सत्रदेखि शुरुवात समेत गरिएको छ । बिद्यालय हाता भित्र सीसी क्यामेरा जडान गरेर त्यहाँको अवस्थाबारे अध्यक्ष राईले निगरानी गरिआएका छन् ।
यो पालिकामा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावकलाई समेत उत्तरदायी बनाउन ‘सन्तानका लागि आमा कार्यक्रम’ यसै शैक्षिक सत्रदेखि प्रारम्भ गरिएको छ गाउँपालिकाको शिक्षा समितिका सदस्य समेत रहेका कमल १ स्थित नरेन्द्र जनता माविका प्रधानाध्यापक बद्री कार्की बताउँछन् । पहिलो चरणमा पालिका भित्रका माध्यमिक तहका बिद्यालयहरुमा यो कार्यक्रम सञ्चालन हुँदैछ ।

उनका अनुसार यस अन्तर्गत बिद्यार्थीका अभिभावकहरुसँग बिद्यालय र जनप्रतिनिधिहरुले शैक्षिक गुणस्तर सुधारका लागि गर्न सकिने साझा प्रयासहरुका बारेमा सर्वपक्षीय संवाद र अन्तरक्रिया गर्नेछन् ।
प्रत्येक बिद्यालयमा सीसी क्यामेराको जडान गरि गाउँपालिका कार्यालयबाटै सबै बिद्यालयहरुको गतिबिधि निगरानी गर्ने काम कमल गाउँपालिकामा भइरहेको छ ।
सामुदायिक बिद्यालयहरुको अवस्थाका बारेमा बिद्यालयहरुमै पुगेर जानकारी लिने क्रममा सबै ठाउँबाट अभिभावक र शैक्षिक सरोकारवालाहरुले बिद्यालयमा राजनीतिनै सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा बाधक रहेको निष्कर्ष सुनाएका थिए ।
शिक्षा क्षेत्रलाई राजनीतिक प्रभाव र दबाब मुक्त बनाउन कमल गाउँपालिकाको शिक्षा समितिले बिद्यालय हाता भित्र कुनै पनि राजनीतिक दलका औपचारिक बैठक, सभा समारोह कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाउने निर्णय लिइसकेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका गाउँपालिका अध्यक्ष राईले राजनीतिक स्वार्थ भन्दा माथि उठेर कमलको शैक्षिकस्तरलाई उकास्न भन्दै शिक्षकहरुलाई जुनसुकै राजनीतिक दलमा आवद्ध रहेको भए पनि दलीय जिम्मेवारी त्याग गर्न आव्हान गरिसकेका छन् ।
सामुदायिक बिद्यालयको शिक्षाप्रति आम नागरिकलाई विश्वास र भरोसा जगाउनु आवश्यक ठानेर अध्यक्ष राईकै नेतृत्वदायी भूमिकाबाट कमल गाउँपालिका भित्र सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक बिद्यालयमानै पढाउनु पर्ने नीतिगत निर्णय यो पालिकामा भइसकेको छ । यसले समेत सामुदायिक विद्यालय प्रति विद्यार्थीको आर्कषण ह्वातै बृद्धि हुदै गएको उनको भनाई छ । उनका अनुसार अभिभावक स्वम विद्यालयमा पुगेर शैक्षिक सुधारका विषयमा छलफल गर्न तथा आफना छोराछोरीको पढाईको अवस्था संगै सुधारमा सकरात्मक सहयोग प्राप्त भईरहेको छ ।

दुई बर्ष अघिनै यो निर्णय गरेको भएतापनि प्रचलित कानुन बमोजिम चाहेको बिद्यालयमा शिक्षा प्राप्त गर्न पाउने मौलिक हक समेतलाई ख्याल राख्दै पालिकाले सम्बद्ध जनप्रतिनिधि र कर्मचारीहरुलाई जिम्मेवार बनाउने प्रयास गरेको अध्यक्ष राईको तर्क छ ।
धेरै सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढ्न नसकिरहेको सन्दर्भमा स्थानीय सरकारले गुणस्तरका लागि बिद्यालयलाई पूर्वाधारयुक्त बनाउने प्रयास दुई बर्ष अघिदेखिनै गरिरहेको छ ।

सबै बिद्यालयको भौतिक संरचनालाई आकर्षक र समान किसिमको बनाउन बिद्यालय भवनमा पहेंलो रंग लगाउने, घुम्ती नृत्य प्रशिक्षण, खेलकुद प्रशिक्षकहरुको व्यवस्था, कम्पाउण्ड घेराबारा, कक्षा कोठाहरुको उचित व्यवस्थापन, सके सम्म माथिल्लो कक्षा सम्मनै अंग्रेजी माध्यमबाट पठनपाठनको प्रयासलाई अघि बढाइएको छ । कमला मदन आश्रित स्मृति माविका प्रधानाध्यापक हिमप्रसाद दाहाल गाउँपालिकाको नेतृत्वले शिक्षालाई प्राथमिकतामा राखेर बढाइएका कार्यक्रमहरु प्रभावकारी र परिणाममुखी बनिरहेको बताउँछन् ।

कमलका बिद्यालयको पहिचान झल्किने गरि यहाँको पूर्वाधारलाई आकर्षक बनाउने गाउँपालिकाको योजना प्रशंसनीय रहेको प्रधानाध्यापक दाहाल बताउँछन् ।
उनी भन्छन् , –‘शैक्षिक बिकासका कदमहरु अघि बढाइरहँदा निजी क्षेत्रलाई पनि संगसँगै सहकार्य गरेर अघि बढाउन र जिम्मेवार बनाउने लक्ष्य राखिएको छ ।’
निजी बिद्यालयहरुले प्रदान गर्नुपर्ने न्यूनतम १० प्रतिशत निशुल्क छात्रवृत्ति कार्यक्रमको कार्यान्वयनमा यही बर्षदेखि कटिबद्ध भएर लाग्न सम्बन्धित शिक्षा शाखा तथा शिक्षा अधिकारीहरुलाई निर्देशन गरिएको छ ।
विपन्न, विद्यालयहरुमा रहेको बिद्यार्थीले वीचैमा पढाई छाड्ने ड्रप आउटको समस्यालाई शत प्रतिशत रोक्ने स्थानीय सरकारको प्रयास रहेको पालिका अध्यक्ष हुकुमसिंह राईले बताए । कमलका ७ वडा भित्र ११ माध्यमिक तहका र अन्य १० वटा आधारभूत तहसम्मको पठनपाठन हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.