दमक ,८ जेठ । किरात सांस्कृतिक मिथकमा आधारित चलचित्र ‘सेमिफूङ’ (आगोको फूल) यहि जेठ ९ र १० गते दमकमा विशेष प्रदर्शन गरिने भएको छ । चलचित्र निर्माणकर्मीका अनुसार दमकस्थित डिम्याक्स हलमा चलचित्र प्रदर्शन हुने छ । लिम्बू पृष्ठभूमिको चलचित्र भएको भएपनि ‘सेमिफूङ’ले आदिवासी जनजाति मात्र नभएर गैर आदिवासी जनजातिको पनि मिथ बोलेको यसका लेखक राज थापा (काउचा )मगरले बताए ।
उनले प्रविधि र चेतनाको विकासले उपनिवेशीकरण समेत सिर्जना गरेकाले मानिस विचारको संकटको चौबाटोमा आइपुगेको चलचित्रको कथा रहेको बताए। उनले भने ,‘उपनिवेशीकरणसहितले सिर्जना गरेको वैचारिक संकटले मौलिक सांस्कृतिक पक्षमाथि समेत संकट पारेको कुरा ‘सेमिफूङ’ ले उजागर गराउने प्रयास गरेको छ ।’
सो चलचित्रका नायक वविन आङदेम्बेले पूर्वको संस्कार संस्कृतिको कथा पूर्वबाटै प्रदर्शनमा ल्याउन लागिएको उल्लेख गरे । २ घण्टा लामो यस चलचित्र ४० लाख लागत रहेको निर्माता समेत रहेका आङदेम्बेले सुनाए ।
विशेष प्रर्दशनीका बारेमा दमकमा आयोजित पत्रकार सम्मेलनमा किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ, लिम्बू चलचित्रकर्मी कलाकार विक्रम फागो वनेम, ‘सेमिफूङ’ का गीतकार साङ्गसेन पन्धाकसहितको उपस्थिति रहेको थियो ।
रवि शेर्माको निर्देशन रहेको याक्थुङ फिल्मस् प्रालिको व्यानरमा निर्मित सो चलचित्र झापा ,मोरङ र इलामका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा अधिकांश लिम्बू भाषासहित नेपाली भाषामा समेटिएको छ ।