गौरीगञ्ज ,५ चैत । जिल्लाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) निर्वाचनमा सत्तारुढ विद्यार्थी संगठनको गठबन्धन प्यानल विजयी भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको हो ।क्याम्पसको ३३ बर्षे इतिहासमा पहिलोपटक सत्तारुढ दुई संगठन नेविसंघ र अनेरास्ववियूले गठबन्धन निर्माण गरेको थियो ।
स्ववियू सभापतिमा नेविसंघका रोशन यादव विजयी भए । उनले ४६ मत ल्याएर विजयी हुदाँ उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत र अखिल क्रान्तिकारीकी मेहिनीकुमारी राजवंशीले २२ मत प्राप्त गरिन् ।
सचिवमा ४२ मत प्राप्त गरि अनेरास्ववियूका डिल्लीराज पौडेल विजयी भए । उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार अभिसेक राजवंशीले २४ मत र अखिल क्रान्तिकारीका रोहितकुमार ठाकुरले २२ मत ल्याएका छन् ।
कोषाध्यक्षमा सोहि गठबन्धनकै मुजेफर मियाले ३९ मत प्राप्त गरि विजयी हुदाँ उनका प्रतिद्धन्दी स्वतन्त्रकी तिलकुमारी यादवले २४ र अखिल क्रान्तिकारीकाी लिजा गिरीले ३३ मत प्राप्त गरेकी थिईन् ।
यसैगरि, सदस्यहरुमा दिल्ली राजवंशी (४८ ) ,युगेश कटुवाल (५१ ) ,इसाकुमारी राजवंशी (३८) मत प्राप्त गरि विजयी भईन् ।निर्वाचनमा नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल र स्वतन्त्र विद्यार्थीहरुको छुट्टै प्यानल निर्वाचनमा प्रतिष्पर्धी थिए । १ सय मतदाता रहेको सो निर्वाचनमा ९७ मत खसेको थियो ।
जिल्लाका १३ वटा क्याम्पसमा आज सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ३३२ जना उम्मेद्वार चुनावी मैदानमा छन् भने १३ हजार ३१९ जना विद्यार्थीहरुले निर्वाचनमा भाग लिएका छन् ।