दमक,१६ फागुन । शैक्षिक क्षेत्रमा निकै अव्वल मानिएको दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक स्कूल (जेम्स ) मा संयुक्त राष्ट्रसंघको महासभा, बैठक र निर्णयका प्रकृयाहरुका बारेमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले नमुना अभ्यास गरेका छन् ।
जेम्सको आयोजना तथा दमक नगरपालिकाको सहकार्यमा दमकसहित कमल र मोरङको उर्लावारी नगरपालिकामा १४ वटा विद्यालयका १२० जना विद्यार्थीहरुले तीन दिनसम्मको नमुना अभ्यास गरेका हुन् । बुधबारदेखि शुरु यस कार्यक्रम आज शुक्रवार सकिएको छ ।
कक्षा ६ देखि १२ सम्मका छानिएका विद्यार्थीहरु सहभागि रहेको नमुना अभ्यासमा काठमाडौंको रातो बंग्ला र सेन्ट जेभियर स्कूलका कक्षा १२ को पूरा गरेका विद्यार्थीहरुको टोलीले त्यसका विविध बिषयमा सहजीकरण गराएका थिए । ती दुवै स्कूलले यसअघिनै शैक्षिक गुणस्तर अभिबृद्धि गर्न यस किसिमको कार्यक्रम सञ्चालन गरिआएका छन् ।
नमूना अभ्यास कार्यक्रममा सामुदायिक तर्फका ११ वटा र नीजि तर्फका ३ विद्यालयका सेलेक्टेड विद्यार्थीहरु सामेल भएको जेम्सका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । उनले भने– ‘विद्यार्थीहरुमा रहेको क्षमताको विकास गर्ने र ज्ञान बढाउन अतिरिक्त क्रियाकलापको नयाँ विधाका रुपमा यस्तो कार्यक्रम गरिएकाले यसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता छ । ’संयुक्त राष्ट्रसंघका बारेमा विद्यार्थीहरुलाई अभ्यास गराइएको यो झापामै पहिलो कार्यक्रम भएको उनले सुनाए ।
यसअघि सो विद्यालयले नेपालको संसदीय बैठक र निर्वाचन प्रणालीका बारेमा अलग अलग अभ्यास गराएको थियो । अहिले भने विद्यालयमा हुने अतिरिक्त क्रियाकलापको परम्परागत शैली र विषयभन्दा भिन्न रहेर अन्तर्राष्ट्रिय स्तरको अभ्यासका बारेमा जानकारी होस् भन्ने हेतुले संयुक्त राष्ट्रसंघका विषयमा विद्यार्थीहरुलाई तीनदिने अभ्यास गराइएको जेम्सका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी दिए । उनले भने– ‘विद्यार्थीलाई कितावी ज्ञानले मात्र पूर्णता नहुँने भएकाले समय सन्दर्भ अनुसार बाहिरी ज्ञान पनि आवश्यक पर्छ भनेर पनि हामीले विश्वका घटनाक्रमबारे विद्यार्थीहरुवीच नमुना अभ्यास गरेका हौ ।’
अभ्यासका क्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्, वातावरण र महिला विभागले गर्ने बैठक, छलफल, वादविवाद, निर्णय, निर्णयको प्रकृया तथा घोषणा कसरी अघि बढ्छन् भन्ने कुरा नमुना अभ्यास गरेर अनुभव बटुलेका छन् । जसमा उनीहरुले गाजा क्षेत्रको विवाद, द्वन्द्वग्रस्त क्षेत्रमा महिलाहरुमाथिको हिंसा, वन्यजन्तु संरक्षण र चोरी निकासी लगायतको विषयमा रिपोटिङ गर्ने अभ्यास गरिरहेका छन् ।
जेम्समा उनीहरुले तीन वटा छुट्टा छुट्टै कक्षामा यस्तो अभ्यास गरेको र हरेक बैठक तथा निर्णयपछि गरिने आपसमा विद्यार्थीहरुलाई नै पत्रकार बनाएर पत्रकार सम्मेलनको अभ्यास समेत गरेको विद्यालयकी संयोजक रहेकी जस्मिन कारञ्जितले बताइन् । तालिममा प्राप्त ज्ञान र सीप उनीहरुले आफना विद्यालयमा समेत यस किसिमको कार्यक्रम गर्न सक्ने लक्ष्य राखिएको उनले बताईन् ।