पाथीभरा केबलकार निर्माण तत्काल रोकेर वार्ता गर्न सांसदहरूको माग

झापा,११ फागुन । संघीय संसदका सांसदहरूले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्।प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आइतवार उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे।
‘सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको’, सांसद लिङ्देनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।’
अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए।
सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने बताए ।
सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।

पाथीभरा क्षेत्रको समस्या समाधान गर्न दलहरूको माग 

कोसी प्रदेश सभामा सांसदहरूले पाथीभरा क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।कोसी प्रदेश सभाको बैठकमा बेल्दै नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगायतका दलका नेताहरूले तत्काल समस्याको समाधान गर्न माग गरेका हुन्।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने र नबनाउने भन्ने बिचको विवादलाई वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको हो।आइतबार बसेको कोसी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गरे। वार्ता र छलफलबाट समस्या समाधान तत्काल गर्नुपर्ने उनले बताए। ताप्लेजुङमा हिजो साँझ भएको घटना असाध्यै दुखद् भएको उनको भनाइ थियो।शान्तिपूर्ण ढङ्गले राँके जुलुस निकाल्नु स्वाभाविक भए पनि मानिसको घरघरमा राँको फालिएको भन्दै उनले असन्तुष्टि जनाए।‘पटकपटकको आगलागीले फुङलिङ बजार त्रसित छ,’ उनले भने, ‘आगोको मुस्लो घरघरमा पस्दा मान्छेहरू त्रसित भए।’

प्रहरीको सानो समूहलाई आक्रमण गरेको बताए। साँझ भएको घटनामा १ जना प्रहरी र ३ जना आन्दोलनकारीलाई जिल्ला बाहिर उपचारको लागि पठाइएको भन्दै उनले उपचारको प्रबन्ध गर्न उनले सम्बन्धित आग्रह गरे।

यसअघि प्रदेश सभामा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि पाथीभरा क्षेत्रको विवाद समाधान गर्न आग्रह गरेका थिए। यस्तै राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि केबलकार निर्माणको काम स्थगित गरेर वार्ता र छलफल गर्न सरकारको ध्यानाकर्षण गराए।‘सरकारले वार्ता र छलफल गर्नुको साटो दमनको बाटो रोजेको छ। यो घोर आपत्तिजनक छ,’ उनले भने। यस्तै जसपाका सांसद निर्मला लिम्बुले पनि पाथीभरा क्षेत्रमा भएको भिडन्त र विवादको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्। प्रदेश सभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले पाथीभरामा केबलकार निर्माण गर्ने या नगर्ने भन्ने विषयलाई तत्काल टुंगोमा पुर्‍याउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published.