दमकमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल हुने

दमक,६ फागुन । झापाको दमकमा “मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८१” हुने भएको छ । नेपाल खेलकुद महासंघ नेपाल कोशी प्रदेश कमिटीको आयोजनामा फागुन ११ देखि १६ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको हो ।
महासंघले “एक कमिटी एक खेलकुद गतिविधि” कार्यक्रम अन्तर्गत खेलकुदको माध्यमवाट देशका युवा पिँढीलाई अगाडी बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका कोशी अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।
स्थानीय हिमालय माविमा रहेकोे प्रदेश भलिबल प्रशिक्षण केन्द्रमा हुने सो प्रतियोगितामा देशभरिका १० टिमको सहभागिता रहने छ । प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेशको संयोजन र कोशी प्रदेश भलिवल संघको सहकार्यमा हुने सो प्रतियोगितामा सातै प्रदेशका भलिबल टिमकासाथै शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मी भलिवल टिमको समेत सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तृतीयले १ लाख ५० हजार र सान्तवनाले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । ६ वटा विधामा उत्कृष्ट खेलाडीलाई १० हजार, प्लेयर अफ दी टुर्नामेन्टलाई २५ हजार, र प्लेयर अफ दी म्याचलाई ५ हजार पुरस्कार प्रदान हुने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसअघि महासंघ कोशी प्रदेश कमिटीले २०८० फागुन २१ गते “केपी ओली रोड रेस २०८०” अन्तर्गत १० किलोमिटर खुला (महिला÷पुरुष) दौड प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published.