माओवादीले हुलाकी राजमार्गवाट जागरण अभियान थाल्ने

झापा ,६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ भन्ने मुल नाराका साथ झापाको कचनकवलबाट तराई–मधेश जनजागरण अभियान सुरु गर्ने भएको छ । फागुन १२ वाट सुरु हुने अभियान हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा पुगेर समापन हुने माओवादीले जनाएको छ ।
माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कवहादुर नेम्वाङ (मिक्क्सो) का अनुसार १२ फागुनमा देशकै होचो भुभाग कचनकवलवाट अध्यक्ष प्रचण्डले अभियान शुभारम्भ गर्ने छन् । तराई–मधेश जोड्ने हुलाकी राजमार्गमा अभियान केन्द्रित हुने जनाइएको छ ।
माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेलले अभियानका क्रममा जनतासंग प्रत्यक्ष भेटघाट र संवाद गरिने जनाएका छन् । गजुरेलले भने, ‘विगतका गल्ती र कमजोरी सच्चाउँदै नयाँ शिरावाट अघि वढ्ने उद्देश्यका साथ अभियान गर्न लागेका हौ ।’
खासगरी २०६४ मा माओवादीले प्राप्त गरेको जनमतलाई एकीकृत गर्ने दिशामा अभियान केन्द्रित रहेको गजुरेलले जनाएका छन् । ‘२०६४ सालका मतदाता र तिनका परिवारसंग प्रत्यक्ष भेटेर संवाद गर्नेछौ’, गजुरेलले भने, ‘आगामी २०८४ को निर्वाचनमा ६४ मा जस्तै पुनः मत दिन अनुरोध पनि गर्नेछौ ।’ गजुरेलका अनसार यसपटक माओवादी उपत्यका, मधेश र पूर्वमा वढी केन्द्रित हुने छ ।
केही समय अघि सम्पन्न उपनिर्वाचनको परिणामवाट हौसिएको माओवादी २०८४ मा ‘क्लिन स्वीप’ गर्ने रणनीतिमा रहेको गजुरेलले दावी गरे । थपे,‘२०८४ मा हामी विगतको नतिजा दोहोर्याएर इतिहास रच्ने योजनामा छौ ।’ उपनिर्वाचनमा माओवादीले कोशी प्रदेशमा मोरङको ग्रामधान गाउँपालिका अध्यक्ष सहित उदयपुरमा दुई वडाध्यक्ष जितेको थियो ।

Leave a Reply

Your email address will not be published.