पथरीशनिश्चरे, ६ फागुन ।मोरङ्गको पथरीशनिश्चरे ९ स्थित महेन्द्र चोकमा ओम बुद्ध फ्युल सेन्टर सञ्चालनमा आएको छ ।पथरी शनिश्चरे नगर क्षेत्रभित्र यो नै पहिलो पटक व्यवसायिक पेट्रोल पम्प हो ।
सोमबार बिहान एक कार्यक्रमका बीच संविधानसभाका सभासद् चण्डी प्रसाद राईले सो फ्युल सेन्टरको उद्घाटन गरे । पम्पको व्यावसायिक सफलताको शुभकामना दिदैं उनले पथरीशनिश्चरेको आर्थिक विकासमा यस्ता उद्योग प्रतिष्ठानले सघाँउ पुरयाँउने बताए ।
स्थानीय रणबहादुर गुरुङ , श्यामप्रसाद चौहान र डिल्लीराम भट्टराईको कुल १५ करोड बराबरको लगानीमा उक्त फ्युल सेन्टर सञ्चालनमा ल्याइएका हुन् । लामो समयदेखि पेट्रोल तथा डिजेल इन्धन भर्नका लागि उर्लाबारी नगरपालिका वा बेलबारीसम्म धाउन बाध्य यहाँका स्थानीय नगरवासीहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने सञ्चालकहरुको भनाई छ । उक्त फ्युल सेन्टर पूर्व–पश्चिम राजमार्ग पथरी बजारदेखि करिब ४ किलोमिटर दक्षिण गान्धी– मनमोहन सडक खण्डमा रहेको छ ।
कार्यक्रममा पथरीशनिचरे ९ का वडाध्यक्ष वीरबहादुर राई र वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले समेत पम्पको व्यवसायिक सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्ले ,नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पूर्व मेयर किशोर राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, एकीकृत समाजवादीका नगर अध्यक्ष तुलसी ढकाल लगायत विभिन्न पार्टीका प्रतिनिधि तथा सर्वसाधारणहरूको उपस्थिति पनि रहेको थियो।