कमलमा एच.पि.भी. खोप अभियान प्रभावकारी बन्दैं

दमक ,२४ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान प्रभावकारी बन्दै गएको छ ।कमलका सात वटै वडामा गत माघ २२ गतेदेखि शुरु भएको एचपिभी खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको हो । कमलमा गत माघ २२ गते कमला मदन आश्रित स्मृति माविबाट एच.पि.भी खोप अभियान औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो खोप कार्यक्रम कमल २ मा भने माघ २८ गते सम्म चल्नेछ ।जसअन्तगर्त माघ २२ गते कमला मदन आश्रित मावि, २३ गते पाथीभरा बोर्डिङ, २४ गते महेन्द्ररत्न मावि, २५ गते नवोदय मावि, २७ गते ज्योति मावि र २९ गते कमल नगर अस्पतालमा एचपीभी खोप दिइने तालिका वडाले सार्वजनिक गरेको छ । बिद्यालयमा खोप लगाउन छुटेका र बिद्यालय बाहिर रहेका खोप लगाउनु पर्ने उमेर समूहका किशोरीहरुलाई अस्पतालमा खोप दिइने कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिए ।
कमल गाउँपालिका वडा न. १ स्थित नरेन्द्र जनता माविबाट शुभारम्भ भएको खोप अभियान वडाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरु र विद्यालय जान छुटेकाहरुलाई लक्षित गरेर सुरक्षित खोप लगाउदैआएको दाहालले बताए ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध यस खोप देशैभरि सञ्चालित छ । कमल -१ का विभिन्न पाँच स्थानमा यस खोप सञ्चालन गरिने केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताए । उनका अनुसार माघ २२ पछि २३ गते बासँबारी मावि बासँबारी, विहिबार महेन्द्ररत्न मावि सराङपाडास्थित सरस्वती अंग्रेजी वोर्डिङ स्कुलमा खोप सञ्चालन गरिएको थियो । भोलि शुक्रवार २५ माघमा भने सोहि वडाको विद्यासदन अङ्ग्रेजी विद्यालय शुक्रवारेमा र २७ माघमा भने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नै खोप सञ्चालन तय गरिएको उनले बताए ।
यसै अभियान अन्तर्गत कमल ७ स्थित सरस्वती माविमा आज पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने कार्य भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अधिकृत छैठौं अमृत सुब्बाले बताए । उनले भोलि शुक्रवार नवोदय विद्या मन्दिरमा खोप कार्यक्रम सञ्चालन हुने जनाए ।यस खोप सुरक्षित ,प्रभावकारी भएकाले पनि किशोरीहरुले निर्धक भएर खोप लगाएका उनले बताए ।

Leave a Reply

Your email address will not be published.