केर्खा,१७ माघ। जिल्लाको कमल गाउँपालिका–२ मा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी भाइरस विरुद्धको खोप अभियान सञ्चालन सम्बन्धी वडास्तरीय अभिमुखीकरण सञ्चालन गरिएको हो ।
वडाअध्यक्ष तथा वडा खोप समन्वय समितिका अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव सागर दाहाल, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक–शिक्षिका, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा एचपीभी खोप अभियान २०८१ को बारेमा विस्तृत जानकारी दिइएको थियो। यस अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरू गरी ४३८ जना किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने कार्यक्रम छ ।
अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने भएकाले लक्षित किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउन वडा अध्यक्ष सुब्बाले आग्रह गरे।
जसअनुसार कमल–२ मा खोप अभियान कमला मदन आश्रित स्मृति मावि, क्याम्पाबाट सुरु भई माघ २८ गते कमल नगर अस्पतालमा समापन गरिने उनले जनाएका छन् । माघ २३ गते बुधबार पाथीभरा बोर्डिङ स्कुल, तोपगाछी, माघ २४ गते बिहिबार महेन्द्र रत्न मावि, माघ २५ गते शुक्रबार नवोदय मावि ,माघ २७ गते आइतबार ज्योति माविमा सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ ।
कमल नगर अस्पतालका कार्यालय प्रमुख दीपक दाहालका अनुसार किशोरीहरूले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । अभिमुखीकरणमा वडा अध्यक्ष सुब्बाले स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै किशोरीहरूलाई एचपीभी खोप अनिवार्य रूपमा लगाउन आग्रह गरेका छन्।