झापा, १५ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार- २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई पुरस्कार प्रदान गरिने भएको छ ।
कमल ५ मंगलवारे निवासी सुब्बा अढाई दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । सुब्बा राष्ट्रिय समाचार समिति (रासस ) का जिल्ला समाचारदाता तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक हुन् ।
स्व. डिकमान विरही सुनुवारको स्मृतिमा स्थापित सो पुरस्कार यसवर्ष सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकले जानकारी दिईन् । यसैगरि, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत दमकका सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए ।
पुरस्कार छनौट गर्न फोनिजका पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारसहित उदीयमान पत्रकारिता पुरस्कार छनोट गरेको योञ्जनले बताए ।
डिकमान पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ र उदीयमान पत्रकारिता पुरस्कारको राशि ५-५ हजार रूपैयाँ रहेको छ ।
ती ३ वटै पुरस्कार यहि माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ । सोहि अधिबेशनको उद्घाटनमा फोनिज झापाले प्रकाशन गरेको स्मारिकाको बिमोचन गर्नुका साथैं नयाँ नेतृत्व समेत चयन गरिने कार्यक्रम रहेको छ ।