दमकमा राजस्व संकलन र अनुगमन अभियानमा तीव्रता

दमक,१८ मंसिर । दमक नगरपालिकाले आन्तरिक राजस्व सङ्कलन तथा अनुगमन अभियानलाई तीव्र पारेको छ । मंसिर १७ देखि शुरु गरिएको अभियानबाट दुई दिनको अवधिमा करिव २ लाख रुपैया संकलन गरेको नगरपालिकाको राजस्व प्रशासन शाखाले जनाएको छ । नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीसहित प्रशासनका कर्मचारीसहितको अनुगमन टोलीले दमक १ हवल्दार चौंक आसपासका वजार क्षेत्रमा स्थलगत अनुगमन गरेर औपचारिक रुपमा अभियान शुरु गरिएको थियो ।
अनुगमनका क्रममा त्यहाँका ११५ वटा व्यवसाय,पसलको अनुगमन गरिएको जनाईएको छ । टोलीले व्यवसायीसंग नगरपालिकाले उपलव्ध गराउदैआएको व्यवसायिक इजाजत प्रमाणपत्र लिए नलिएको , नविकरणको अवस्थाका बारेमा कागजातहरु हेरेर स्थलगत रुपमै कारवाही गर्नेसम्मको कानुनी प्रकृया अघि बढाईएको नगर प्रमुख थापाले बताए ।
अनुगमनका क्रममा नगरपालिकाले १४ वटा पसललाई व्यवसायिक इजाजतको दर्ता ,२८ वटा व्यवसायीलाई वक्यौता असुलीको लागि पत्राचार गरिएको थियो भने २१ वटाको नियमानुसार नविकण गरिएको थियो । सो वापत कुल रु १ लाख ८४ हजार ११४ रुपैयाँ राजस्व संकलन गरिएको राजस्व शाखाले जनाएको छ ।
दमकमा ठुलो संख्यामा विभिन्न किसिमका व्यापार,व्यवसाय सञ्चालन गरिदैआएपनि आधाका हाराहारी व्यवसायीले नगरपालिकामा नियमानुसार कर नबुझाएको राजस्व शाखाले जनाएको छ । आन्तरिक स्रोत लक्ष्य अनुसार संकलन नभएकाले पनि नगरपालिकाले दमकका मुख्य वजार क्षेत्रमा दैनिक रुपमा राजस्व संकलन बृद्धि गर्न अभियान सञ्चालन गर्न बाँध्य हुनुपरेको नगरप्रमुख थापा बताउँछन् । अभियानपछि व्यवसायीहरुले विभिन्न किसिमका कर सम्बन्धी आवश्यक जानकारी पाउने र यसले व्यवसाय प्रवद्र्धनमा नै टेवा पुग्ने नगर प्रमुख थापाको भनाई छ । दमकमा १० वटै वडामा यो अभियान सञ्चालन गरिने जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published.