मंसिर २२ देखि इलाम गोल्डकप शुरु

इलाम ,१८ मंसिर । मंसिर तेस्रो सातादेखि शुरु हुने इलाम गोल्डकपको तयारी तीव्र पारिएको छ । आयोजक रेडहर्स फुटवल क्लब इलामले पत्रकार सम्मेलन गरी यहि मंसिर २२ गतेदेखि ‘एनआरएनए इलाम गोल्डकप’ प्रतियोगिताका बारे त्यस्तो जानकारी दिएको हो ।
गत वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । मंसिर २२ देखि सुरु भएर २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा विभागीय टिमसहित विभिन्न क्लबहरुले सहभागिता जनाउँदैछन् ।
प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च ब्वाइइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने खड्गीले बताए । प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । तारा–रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोस्रो पुरस्कारका लागि ५ लाख उपलब्ध गराएको छ ।प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाका सचिव प्रकाश घिमिरेले बताए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई ११ हजार रुपैयाँले पुरस्कृत गरिने जनाइएको छ । यस्तै, म्यान अफ द म्याचलाई ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने रेडहर्सका सचिव घिमिरेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोट्र्स जर्नालिजम अवार्ड’ को पनि घोषणा गरे । इलामको खेल क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा बिर्तामोड युनाइटेडलाई हराउँदै उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको थियो । त्यसबेला विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाएका थिए ।

Leave a Reply

Your email address will not be published.