झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

झापा ,१६ मंसिर । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ ।भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । झापामा गतवर्ष दुई सय ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो ।
“उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख किलो धुलो बेसार हुन्छ”, उनले भने, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउँछन् । जिल्लामा स्थानीय जातको बेसारखेती हुदैआएको छ ।
झापाको कचनकवल, दमक, अर्जुनधारालगायत पालिकामा बेसारखेती हुने गरेको छ ।
जिल्लामा खुलेका सानाठूला मसला प्रशोधन उद्योगका कारण बेसारखेतीतर्फ कृषक आकर्षित हुन थालेका छन् । कचनकवलको साथी कृषिफर्म, बिर्तामोडको मेची खाद्य प्रशोधन उद्योग र दमकको सेतुमारी कृषि सहकारीले बेसार प्रशोधन गर्दै आएको छ ।
यी तीन संस्थालाई प्रशोधन मेसिन र आवश्यक पूर्वाधार निर्माणका लागि रू ६० लाख अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “दमकमा कृषि सहकारीले सदस्यलाई बेसार उत्पादन गर्न प्रोत्साहन गर्न थालेपछि खेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ”, प्रमुख विष्टले भने, “झापामा बेसारखेतीको सम्भावना पनि धेरै छ ।”
झापाका भारतीय सीमावर्ती क्षेत्रबाट वैध अवैध रुपमा बेसार भित्रिँदा चुनौती देखिएको उनले बताए । “भारतको बेसार सस्तो छ”, उनले भने, “त्यसले चुनौती पनि देखिन्छ ।” कृषकलेसमेत माटोसहितको बेसार बेच्न लाँदा उचित मूल्य नपाउने अवस्था छ ।
आफूले उत्पादन गरेको बेसारलाई सफा बनाएर बेच्न लाँदा राम्रो मूल्य पाउने विष्टको भनाइ छ । झापामा गत वर्ष प्रतिकिलो गोटा बेसार रू एक सय ३० देखि रू एक सय ५० सम्ममा बिक्री भएको थियो । बजारमा धुलो बेसारको मूल्य रू तीन सय ५० देखि रू पाँच सयसम्म रहेको छ ।

धान र चामलको आयात निरन्तर घट्दो

नेपालमा तीन वर्षयता धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । यो वर्ष अघिल्लो वर्ष २०७९-०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँको कम धान र चामल आयात भएको हो । आर्थिक वर्ष २०७९-०८० मा ३६ अर्ब ६५ करोड रुपैयाँको धान र चामल आयात भएको थियो ।
आर्थिक वर्ष २०७८-२०७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात भएको थियो । यो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९-०८० मा १० अर्ब ९२ करोड रुपैयाँको धान र चामलको आयात कम भएको विभागको तथ्याङ्क छ ।
यसरी धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भातमात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ । यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषि जनाकारहरूको भनाई छ ।
आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०-०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

Leave a Reply

Your email address will not be published.