झापा, १० मंसिर । झापाको बिर्तामोड नगरपालिकाका दुई अलग अलग स्थानमा भएको लाखौ मूल्यको सरसमानमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड ४ र ६ मा एकै दिन आगलागी हुदाँ लाखौ मूल्यका सरसमानमा क्षति पुगेको छ ।
विर्तामोड –६ स्थित मसाले टोल बस्ने अर्जुन थलानको परालको थुप्रोमा अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा.०३–००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी भएको छ । आगलागीबाट टिपरको अगाडीको भाग जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोली, स्थानीयको सहयोगमा राति २ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरि,बिर्तामोड नगरपालिका– ६ बुट्टावारीस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।आशिष वनको घरको सटरमा अर्जुनधारा ११ बस्ने दिपक राजवंशीले भाडामा लिई सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आइतवार साँझ ६.४० बजे बिद्युत सर्ट भएर आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी बुट्टावारी र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोली,स्थानीय, बिर्तामोड,भद्रपुर र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः१५ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट वर्कसपमा रहेको मर्मतको लागि राखिएको स्कुटर–१ थान,सुपर स्प्लेण्डर मोटरसाइकल–१थान,एयर कम्प्रेसर–१थान,मर्मतमा प्रयोग हुने बिभिन्न औजारहरु र उक्त कोठामा समेत क्षति भई अन्दाजी मूल्य रु.१५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।