दमक,७ मंसिर । दमकको लाइफलाइन अस्पताल उत्कृष्ठ करदाताका रुपमा सम्मानित भएको छ ।आन्तरिक राजस्व कार्यालय दमकले १३ औं राष्ट्रिय कर सप्ताह समापन कार्यक्रममा शुक्रवार सो अस्पताललाई उत्कृष्ठ करदाताका रुपमा सम्मान गरेको हो । उक्त सम्मानपत्र दमक नगरपालिकाका प्रमुख रामकुमार थापा,प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजाल लगायतले अस्पतालका सञ्चालक राजकुमार भट्टराईलाई हस्तान्तरण गरे ।
यसैगरि, कार्यालयले उत्कृष्ठ कर्मचारीका रुपमा सागर ढुङगानालाई समेत सम्मान गरेको छ । कर सप्ताहको समापनमा कार्यालयले बर्षेनी करदाताहरु मध्ये एक जना उत्कृष्ठ करदाता र कर्मचारीलाई सम्मान गरिआएको आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत रिजालले बताए ।
कर प्रणालीको सार,लगानीको आधार भन्ने मुख्य नाराका साथ मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय कर सप्ताह मनाउदैआएको छ ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा भएको सो कार्यक्रममा सहभागि वक्ताहरुले कर बाँध्यता नभएर दायित्व हो भनेर बुझन ,बुझाउन अझै खाँचो रहेको औल्याएका थिए ।
दमक नगरपालिकाका प्रमुख थापाले हरेक करदातालाई उत्साहित भएर कर तिर्न आफनो दायित्व हो भनेर बुझाउन सकेमात्र कर असुली कार्य प्रभावकारी बन्ने जोड दिए ।
उनले दमक नगरपालिकाले नगर भित्र रहेका सवै व्यवसायीहरुले स्थानीय सरकारलाई बुझाउनु पर्ने व्यवसायी तथा सम्पत्ति कर बुझाउन सचेतनामूलक कर शिक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले करको दायरा बढाउन सकेमात्र करको लक्ष्य प्राप्त गर्न सकिने बताईन् ।
आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत रिजालले सवै करदाताले समयमै राज्यलाई बुझाउनुपर्ने विभिन्न खाले कर बुझाए मात्र देश निर्माणमा सहयोग पुग्ने उल्लेख गरे ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतका बक्ताहरुले करदाताले कर तिर्न आफनो दायित्व भएपनि त्यसका लागि सहज रुपले कर तिर्ने बाताबरण निर्माण गर्न खाँचो रहेको औल्याए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाईं, नापी कार्यालय दमकका प्रमुख सत्रुघन यादव, शसस्त्र प्रहरी पाथीभरा शिक्षालयका प्रहरी उपरीक्षक राजेश उप्रेती , पाथीभरा गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक नवीन खड्का , इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक निसान थापा लगायतको उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कर कार्यालयका अधिकृत टेकराज सेन्ताङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन कर अधिकृत प्रेमप्रकाश मण्डलले सञ्चालन गरेका थिए ।