उर्लाबारीमा मोटरसाईकल दुर्घटना, तीन जनाको मृत्यु

उर्लावारी,६ मंसिर। मोरङको उर्लाबारी–३ मा बिहीबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका वडा नं–८ का २६ वर्षीय अमित लिम्बू छन् ।
धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी मोरङ पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन । यस्तै कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन् । उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published.