झापा, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पुर्याइएको थियो। न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको साइबर ब्युरोको प्रवक्ता एसपी दीपकराज अवस्तीले जानकारी दिए।
हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजै थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो।
सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते कागज सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन्।
दुर्गा प्रसाईंका १० सहयोगी पनि पक्राउ
बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंसंगै उनका १० जना सहयोगी पनि पक्राउ परेका छन् ।सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो ।
‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै एक साताअघि सीआईबीमा जाहेरी दिएका थिए ।
भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोई’ को समेत नाम लिएर भारत र यूएईबाट धम्क्याएर रकम मागेको प्रहरीको भनाइ छ ।