एमाले इलामको अध्यक्षमा बराल र भट्टराई भिड्दै

इलाम, ३० कात्तिक । नेकपा (एमाले) इलामको जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।बिहीबारदेखि सुरु भएको ११औं अधिवेशनमा जिल्ला अध्यक्षका लागि वर्तमान अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल र नरेन्द्रनाथ भट्टराईको उम्मेदवारी परेको हो । बराल यसअघि कोशी प्रदेश कमिटी सदस्य हुन् भने पार्टीका पूर्व जिल्ला सचिव हुन् । उनले आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित भएका थिए ।

अध्यक्ष पदका अर्का उम्मेदवार भट्टराई अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य र लामो समयदेखि एमाले जिल्लाको राजनीतिमा सक्रिय छन् । विगतमा पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौं जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित भएका थिए।

एक उपाध्यक्ष पदका लागि उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनाल तथा सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता भएको छ । यसअघि राई उपाध्यक्ष, गुरुङ जिल्ला कमिटी सचिव र खनाल सचिवालय सदस्य हुन् ।

एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य, दिलकुमारी लावती यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारहरु बिच सहमतिको प्रयास भइरहे पनि सहमति हुन नसके केहीबेरपछि निर्वाचन सुरु हुने बताइएको छ । यो अधिवेशनमा पाँच सय ८७ जना मतदान गर्ने प्रतिनिधि छन् ।

Leave a Reply

Your email address will not be published.