दमक ,२६ कार्तिक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा सुरु गरेको छ । यो सहकारी मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्थाका रुपमा चिनिन्छ ।
कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी आइतबादेखि इकाइगत साधारणसभा सुरु गरेको हो । कर्णाली सहकारीले ईकाई गत साधारणसभा गर्ने क्रममा आज दमक ईकाईको साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा दमक नगरपालिका सहकारी शाखाका नायब सुब्बा सरिता कटुवालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको दमक सेवाकेन्द्र ब्यवस्थापक ईन्दबहादुर कार्कीले जानकारी दिए । ईकाईगत साधारणसभामा संस्थाका दमक सहित नमुना, लखनपुर, क्याम्पा, गौरादह, र जुरोपानी गरी ६ वटा सेवा केन्द्रका सेयर सदस्यहरु सहभागी रहेका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०-०८१ को असार मसान्तको वास्तविक वित्तीय विवरण प्रस्तुत गरे । गत असार सम्ममा ५६ हजार ६६८ जना शेयर सदस्यहरुबाट ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ शेयर पूँजी तथा निक्षेप बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको प्रतिबेदनमा जनाईएको छ ।
कर्णाली सहकारीमा आवद्ध शेयर सदस्यहरुमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको र ३ अर्ब ७६ करोड ० लाख ४ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ भने संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ ह्जार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न समिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने उल्लेख छ ।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको संयोजक मनकुमार बेघाले लेखा प्रतिवेदन र कोषाध्यक्ष तथा ऋण उप समिति संयोजक एकराज विष्टले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेको सहकारीको सचिव भुपाल बस्नेतले जानकारी दिए । साधारणसभामा प्रस्तुत भएका प्रतिवेदन माथि सदस्यहरुले छलफल गरी सुझाव सहित पारित गरिएको थियो । यसअघि आईतबार बिर्तामोड (क ) ईकाईको साधारणसभा सम्पन्न भएको सचिव बस्नेतले बताए ।
साधारणसभाको अवसरमा संस्थाको विशेष उपचार कोषमा आवद्ध सदस्य र तिनको परिवारमा बिरामी भई उपचार गर्दा भएको रकम समेत हस्तान्तरण गरिएको थियो ।
आगामी दिनमा बाँकी ५ वटा ईकाईमा साधारणसभा गरि आगामी मंसिर १४ गते बिर्तामोडमा माईन्युट लेखन प्रमाणीकरण गरि यस बर्षको साधारणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गौतमले जानकारी दिए ।