लखनपुर,२५ कार्तिक । झापाको कमल गाउँपालिका- ५ मंगलवारेस्थित सगुन युवा क्लबले विगतका वर्षझै यसवर्ष पनि शनिवार भव्यताका साथ सगुन सांगीतिक साँझ –२०८१ सम्पन्न गरेको छ ।
बर्षेनी दशैं तिहारको अवसर पारेर सञ्चालन गर्दै आएको सगुन सांगीतिक साँझलाई यसवर्ष पनि निरन्तरता दिएको हो । मंगलवारे वजारको प्राङगणमा भएको सगुन साँझ तथा सामूहिक देउसी भैलो विधिवत समापन गरिएको क्लवले जनाएको छ ।
स्थानीय प्रज्वल गौतम नेतृत्वको स्थानीय कलाकार टोलीले देउसी भैलो गीत प्रस्तुत गरेर शुरु भएको सांगीतिक साँझ राती अवेरसम्म चलेको थियो । स्थानीय बाल कलाकारहरुले चर्चित गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरे भने स्थानीय व्यवसायी टेकनाथ अधिकारीले हाँस्यव्यङ्ग्य कला प्रस्तुति देखाएर थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा चर्चित गायिका रुक्साना लिम्बू र राजन पन्धाकले आफना मिठो गीतहरु प्रस्तुत गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सो कार्यक्रममा कमल गाउँपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, रोजगारीका क्रममा हङकङ बस्दैआएका स्थानीय लक्ष्मी लिम्बू लगायतको क्लबका पदाधिकारी,सदस्यहरु, स्थानीय सामाजिक अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीयले तिहारको देउसीभैली स्वरुप आर्थिक सहयोग समेत पुरयाँएका थिए । क्लवले कार्यक्रममार्फत संकलित रकम सार्वजनिक गरि बचत हुन आएको रकम क्लवको हितका निम्ति खर्च गरिने क्लवका सचिव रोशन दाहालले बताए ।