मोरङ,२२ कातिक । नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार पूर्व महासमिति सदस्य बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा आज बसेको बैठकले कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । कांग्रेसबाट १७ जना आकांक्षी थिए ।ग्रामथानको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा यसअघि नै गरिसकेको छ । नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन ।
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।