दमकमा यौनिक तथा अल्पसंख्यकले खोले खाजा घर

दमक,२ असोज । समाजमा रहेका यौनिक तथा अल्पसंख्यक समुदायहरु विस्तारै स्वरोजगार बन्दै गएका छन् ।
स्थानीय तह तथा विभिन्न सामाजिक संघसंस्थाहरुले त्यस्ता लक्षित समुदायहरुलाई पुर्नास्थापित गराउन प्रोत्साहन लगायतका क्षेत्रमा सहयोग पुरयाउँन थालेपछि विस्तारै उनीहरु आयआर्जनका क्षेत्रतर्फ आर्कषित हुदै गएका हुन् ।
दमकमा यौनिक तथा अल्पसंख्यक समुदायहरुको क्षेत्रमा काम गरिआएको संस्था लिड नेपालले आयआर्जनतर्फ लक्षित समुदायलाई आर्कषित गराउन दैनिक सञ्चालनमा आउने होटल,श्रृङगार जस्ता पेशामा व्यवसायिक बनाउदै लगिएको सो संस्थाकी कार्यक्रम संयोजक चञ्चला सुब्बाले बताईन् । उनले सीप सिकेर केहि गर्न खोज्नेका लागि सिकेका क्षेत्रमा उद्यम बन्न संस्थागत रुपमा हामीले टेवा पुरयाउँदै आएको बताईन् ।
उनका अनुसार कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र लिड नेपाल दमकको सहकार्यमा पहिलो पटक झापाको दमकमा तेस्रो लिङ्गी समुदायले इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा ल्याईएको हो ।
विश्वकर्मा पूजाको दिनको अवसर पारेर दमक- ८ स्थित यूनिक टोलमा आजदेखि खाजा पसल शुभारम्भ गरिएको कार्यक्रम संयोजक सुब्बाले जानकारी दिईन् । अन्य खाजा घरको तुलनामा स्वच्छ र सुलभ रुपमा सेवा उपलव्ध गराउने उद्देश्य राखिएको यौनिक अल्पसंख्यक समुदायका सञ्चालक राज मगरले बताए ।
यौनिक अल्पसंख्यक समुदायका मगरसहित अनिष आचार्यले संयुक्त सञ्चालनमा ल्याएको खाजा घरमा चिया,कफी ,मम,चाउमिन,चियो पेय पदार्थ र सेकुवा लगायतका खाजा विक्री गरिने जानकारी दिए । बारिष्ट आदि लिएको तालिमलाई ब्यवहारमा प्रयोग गर्न र रोजगारीका लागि खाजा घर शुरु गरेको सञ्चालक आचार्यले बताए ।
सो खाजा घरको नील हिरा समाज नेपालकी केन्द्रीय अध्यक्ष शितल पिङ्गी गुरुङ्गले उद्घाटन गरिन् । समाजमा स्थापित हुन सीपसंगै रोजगारी तथा प्रोत्साहन खाँचो भएको अध्यक्ष गुरुङ्गले बताइन् ।
यसअघि दमक -६ मा समेत तेस्रो लिङ्गी समुदायले दमक नगरपालिकाको सहयोगमा श्रृङगार सम्बन्धी पसल सञ्चालनमा छन् ।
खाजा घर उद्घाटन कार्यक्रममा परिवर्तन समाज मोरङ्गका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठ, लिड नेपाल झापाका अध्यक्ष सुशिल पौडेल, महिला नेतृ भूमिका कोइराला लगायतले पसल सञ्चालनले तेस्रो लिङ्गी समुदायको आर्थिक उपार्जन र समाजमा पुर्नस्थापना हुन ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.