लखनपुर खानेपानी निर्वाचन : अध्यक्षमा स्वतन्त्र उम्मेदवार भण्डारीको अग्रता

दमक, १ असोज । झापाको कमल– ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दुई समूहमा उत्रिएका गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार उषा भण्डारीले अग्रता लिएकी छन् ।
क्षेत्र नं १ र २ को मतगणना सकिँदासम्म स्वतन्त्र उम्मेदवार भण्डारीले आफना चार प्रतिपर्धीलाई उछिन्दै अग्रता लिएकी हुन् ।
उनले ४०२ मत ल्याएर अग्रता कायमै गरेकी हुन् । त्यसपछि दोस्रो स्थानमा नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनबाट अध्यक्षमा उठेका डम्बरबहादुर निरौलाले ३९६ मत ल्याएका छन् । निरौला कमल ५ का पूर्व वडाअध्यक्ष समेत हुन् ।दुई कार्यकाल अध्यक्षको नेतृत्व सम्हालिआएकी भण्डारी आफनो तेश्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रिएकी हुन् । उनले पहिलो निर्वाचनमार्फत र दोश्रो कार्यकाल भने सहमतिमा चुनिएकी थिइन् ।यसपटकको निर्वाचनमा एमालेबाट विद्रोह गरि स्वतन्त्रबाट उम्मेद्धार भण्डारीले जित्न सक्ने आंकलन गरिएको छ ।भण्डारीलाई पार्टी निर्देशन अवज्ञा गरेको भन्दै एमालेले पार्टी सदस्यता नरहने गरि निष्कासनसम्मको कारवाही गरेको थियो ।

त्यस्तै नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र लिम्बूवानको गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार न्यौपानेले १७१ मत पाउँदा अर्का स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर भण्डारीले १२६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी अर्का स्वतन्त्र उम्मेद्वार खेम गुरागाईले २७ मत पाएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताए ।
उपाध्यक्ष तर्फ लोकतान्त्रिक गठबन्धनका दिनेश अधिकारीले अग्रता लिएका छन् । उनले ४२७ मत ल्याएका छन लोकतान्त्रिकका विद्रोही उम्मेद्वार प्रमोद दाहालले ३ सय ८८ मत ल्याएर पछ्याइरहेका छन् । अर्का प्रत्यासी विनोद खरेलले १५६ मत ल्याएका छन् ।
सचिव पदमा स्वतन्त्र समूहका यामप्रकाश सुब्बाले ५ सय ४४ मतसहित अग्रता लिएका छन् । उनीसँगको प्रतिस्पर्धामा रहेका एमाले नेतृत्वको साझा समूहका हरि घिमिरेले ४२१ मत प्राप्त गरेका छन् कांग्रेस नेतृत्वको लोकतान्त्रिकका निधिरत्न अधिकारीले २ सय ३६ मत ल्याएका छन् ।
सह–सचिवमा साझा समूहकी धनकुमारी राईले ७ सय ९९ मतसहित अग्रस्थान ओगटेकी छिन भने लोकतान्त्रिकी उम्मेदवार बिमला भट्टराईले २ सय ९४ र स्वतन्त्रकी गोमा तिवारीले १ सय ८४ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं र २ को खुल्ला र महिला सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार क्षेत्र नं १ बाट खुल्ला सदस्यमा हेमराज कार्की (भीम ) र महिला सदस्यमा कमला राई गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नं २ बाट खुल्ला सदस्यमा इश्वरीकुमार बुढाथोकी र महिला सदस्यमा लोविता राई निर्वाचित भएको निर्वाचन समितिका संयोजक लामिछानेले जानकारी दिए । बाँकी ३ वटा क्षेत्रको मतगणना जारी रहेको छ । हिजो भएको मतदानमा २ हजार ८ सय ९८ मत खसेको थियो ।

संस्थाको आफनै कार्यालयमा हिजो विहान ७ बजेदेखि शुरु भई अपरान्ह ५ बजेसम्म मतदान चलेको थियो । मतदानमा ८०.२५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । ४ हजार ९ सय बढी उपभोक्ता भएपनि मतदानमा भने ३ हजार ६ सय ११ उपभोक्ता मात्र मतदातायोग्य थिए ।

जसमध्ये क्षेत्र नं १ मा ७५९ मध्ये ६२९, क्षेत्र नं २ मा ७६० मध्ये ६३१ ,क्षेत्र नं ३ मा १९२ मध्ये १७९ ,क्षेत्र नं ४ मा १०५० मध्ये ८४६ र क्षेत्र नं ५ मा ८०४ मध्ये ६२३ मत खसेको जनाइएको छ । आज अपरान्हसम्म मतणनाका सवै परिणाम सार्वजनिक गरिसकिने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.