दमक,२५ भदौं । झापाको दमक १० स्थित सेतुमारी कृषि तथा पशुहाट बजारलाई स्तरनन्ति गरिएको छ ।वडा कार्यालय दमक १० को आर्थिक बर्ष २०७९- ८० को १० लाख रुपैयाको बजेटबाट ठेक्का मार्फत हाईडोलिक ब्लक ओछ्याउने काम सम्पन्न भएको हो । सो कार्य सम्पन्न भएपछि वजारमा चहलपहल आउने सेतुमारी बजार ब्यबस्थापन समितिका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।
सेतुमारी बजारको स्तर उन्नतीका लागि पहिलो चरणमा बजारको आम्शिक क्षेत्रमा हाईडोलिक ब्लक राख्ने काम सम्पन्न भएको र आगामी दिनमा बाकी क्षेत्रमापनि ब्लक राख्ने कार्यलाई निरन्तरता दिइने दमक १० का वडाअध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
सेतुमारीमा बजार पुन संचालन आएसंगै सामान्य दैनिक उपभोग्य बस्तुहरुको किनमेलका लागि १० किलोमिटर टाढाका दमक, उर्लाबारी, गौरादहसम्मका बजार धाउनु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय दुर्गा श्रेष्ठले बताए । यस स्थानमा हाट सञ्चालनमा आएपछि स्थानीय कृषि उपज बिक्रि बितरणमा समेत सहज भएको श्रेष्ठले जानकारी दिए ।
यो बजारमा हाल दमक,कमल गाउँ तथा उर्लाबारी नगरपालिकाको तल्लो क्षेत्रका साथै गौरादह र मोरङको रतुवामाई नगरपालिकाको माथिल्लो क्षेत्रका सर्वसाधारणलाई सहज बनाएको छ ।
दमक १० स्थित सेतुमारीमा गत बर्षको कार्तिक २ गतेबाट आफ्नो उत्पादन आफ्नै बजार आयआर्जनको आधार भन्ने मुल नारा लिएर हरेक हप्ताको बिहीवार हाट लाग्दै आएको छ ।